
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपद व्यवस्थापनमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै उद्धार र राहतमा प्रभावकारी समन्वय हुन नसकेको आरोप लगाएका छन् ।
उनले विपद्का बेला सरकारी स्रोतसाधनको उचित परिचालन गर्न नसकेको र अन्तर्राष्ट्रिय सहयोगसमेत समयमै उपयोग गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै ओलीले संकटका बेला सबै राजनीतिक दल र सरोकारवाला पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए । तर, सरकारले सर्वदलीय समिति बनाएर साझा प्रयास अघि बढाउने पहलसमेत नगरेको उनको भनाइ छ ।
पार्टीको मिसन जागरण अभियानअन्तर्गत आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले यसअघिका बाढीपहिरोका घटनामा पनि उद्धारका लागि सरकारी हेलिकोप्टरको प्रयोग प्रभावकारी नभएको टिप्पणी गरे । उनले हेलिकोप्टरलाई आवश्यकताका आधारमा परिचालन गर्नुपर्नेमा निजी संस्थाको सम्पत्तिजस्तो व्यवहार गरिएको आरोप लगाए ।
‘सरकारी हेलिकोप्टर कुनै संस्थाको निजी सम्पत्तिजस्तो, कहिल्यै हेलिकोप्टर चढ्न नपाएको छ भने चढाउने अवसर मिलेजस्तो, त्यस्तो खालको स्थिति रह्यो,’ उनले भने । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका बेला पनि उद्धार र राहतमा कमजोरी भएको उल्लेख गर्दै ओलीले यसपटक त्यस्ता त्रुटि नदोहोर्याउन सरकारलाई आग्रह गरे । विपद्का बेला उद्धार कार्यलाई प्राथमिकता दिनुपर्नेमा स्रोतसाधनको परिचालन र व्यवस्थापनमै कमजोरी देखिएको उनको आरोप थियो ।
अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने सहयोगलाई समयमै स्वीकार गरी सदुपयोग गर्न नसक्दा उद्धार प्रभावित भएको ओलीले दाबी गरे । सहयोगको उचित व्यवस्थापन हुन नसक्नुले विपद्मा परेका नागरिकको ज्यान जोगाउने प्रयासमा असर परेको उनको भनाइ थियो । ‘वैदेशिक सहयोगको उचित सदुपयोग गर्न सकिएन । समयमा स्वीकार नगर्दा अनावश्यक रूपमा उद्धार अभियानको अभावमा थुप्रै नागरिकले ज्यान गुमाउनु परेको मान्न सकिन्छ,’ उनले भने ।
ओलीले विपद् व्यवस्थापनमा सरकारको भूमिका आलोचना गरेर मात्र नबस्न र पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा खटिन निर्देशनसमेत दिएका छन् । बूढीगण्डकीमा आएको बाढीले घर बगाएको, मानिस बेपत्ता भएको र ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनले उद्धार तथा राहतमा सक्रिय हुन आग्रह गरे ।
उनले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका काममा समेत सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । विपद्को सामना गर्न सरकारको प्रयाससँगै राजनीतिक दल र अन्य पक्षको साझा पहल आवश्यक रहेको उनको भनाइ छ ।

























