तीन दशकदेखि मकै पोलेरै घरव्यवहार चलाउँदै शान्ति

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १५:३२

सुनसरी । श्रीमानको निधनपछि घरको आर्थिक जिम्मेवारी सम्हालेकी धरान उपमहानगरपालिका–१६ की ५९ वर्षीया शान्ति श्रेष्ठले मकै पोलेर बिक्री गर्न थालेको तीन दशक बितिसकेको छ । यही पेसाबाट उनले घरखर्च जुटाउँदै आएकी छन् । उमेर ढल्किँदै गए पनि उनको दैनिकी र कामप्रतिको लगावमा कमी आएको छैन ।

शान्तिको दिन बिहानै सुरु हुन्छ । उनी हरियो मकै किन्न मोरङको भावन्ने पुग्छिन् । बिहान धरानबाट गाडी चढेर मकै खरिद गर्न जाने उनी मकै लिएर फर्किंदा १० देखि ११ बजिसकेको हुन्छ । त्यसपछि धरान–१३ स्थित लक्ष्मीचोक नजिकै सडक किनारमा मकै पोल्ने र बिक्री गर्ने उनको दिनचर्या सुरु हुन्छ ।

शान्तिले दैनिक १६० देखि १८० घोगासम्म मकै पोलेर बिक्री गर्छिन् । घामपानी नभनी सडक किनारमा बसेर काम गर्दै आएकी उनका लागि मकै बिक्री आम्दानीको स्रोत मात्र होइन, जीवन चलाउने मुख्य आधार पनि बनेको छ ।

‘अरू काम गरौँ भने सकिँदैन, अर्कोतिर काम पनि पाइँदैन। मकै पोल्ने काम पनि सजिलो त छैन। कहिले पानी पर्छ, कहिले टन्टलापुर घाम लाग्छ। गाह्रो हुन्छ, तर अब त घामपानी सहन बानी परिसक्यो,’ शान्तिले भनिन् ।

उनले मकै बिक्री गर्न आफैँ मात्र मकै किन्ने गरेकी छैनन् । मोरङका विभिन्न स्थानमा मकैबारी ठेक्कामा लिएर हरियो मकै धरान ल्याउने गरेकी छन् । उनले ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्ममा मकैबारी ठेक्कामा लिने गरेकी छन् । यस काममा उनलाई साथीहरूले पनि साथ दिँदै आएका छन् ।

मकैको आकारअनुसार उनले प्रतिघोगा १५ देखि ५० रुपैयाँसम्ममा पोलेर बिक्री गर्छिन् । कोइलाको खर्च कटाएर मासिक ७० हजारदेखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । यही आम्दानीबाट घरखर्च व्यवस्थापन गर्दै आएकी छन् ।

शान्तिका छोरीहरू विवाह गरेर आ–आफ्नो घर गइसकेका छन् । घरमा नियमित आम्दानी गर्ने अरू कोही नभएकाले घरव्यवहारको जिम्मेवारी उनकै काँधमा छ। त्यसैले उमेर बढ्दै गए पनि उनले काम छाड्नेबारे सोचेकी छैनन् ।

‘काम गर्‍यो भने खानका लागि अभाव हुँदैन । मकै पोलेरै घरव्यवहार चलिरहेको छ। घरमा कमाउने मान्छे छैन, कमाउने मै हुँ । उमेर ढल्किँदै गयो, काम गर्ने बानी बस्यो। काम छाडेर घरमा बस्न मन लाग्दैन,’ उनले भनिन् ।

लामो समयदेखि आफ्नै श्रममा निर्भर रहेकी शान्तिलाई अरूसँग हात थाप्न नपरेकोमा गर्व छ । शरीरले साथ दिएसम्म यही पेसालाई निरन्तरता दिने उनको अठोट छ ।

तीन दशकदेखि मकै पोलेर जीविका चलाउँदै आएकी शान्तिको दैनिकीले श्रमप्रतिको लगाव र आत्मनिर्भरताको उदाहरण प्रस्तुत गर्छ । कठिन परिस्थितिमा पनि आफ्नै मेहनतमा जीवन चलाइरहेकी उनी काम गर्न सकुन्जेल कसैको भर नपरी बाँच्ने अठोटमा छिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×