चाडपर्वमा मोरङ प्रहरीको ‘एक्सन’, बजारदेखि सीमासम्म कडा निगरानी

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १७:२०

विराटनगर । दसैं, तिहार र छठलगायतका ठूला चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन मोरङमा १ हजार १४० जना प्रहरी परिचालन गरिएको छ । भारतसँग खुला सीमा जोडिएको तथा कोशी प्रदेशको राजधानी विराटनगरसमेत रहेको मोरङमा चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, तस्करीदेखि सवारी दुर्घटनासम्मका जोखिमलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया गर्दै चाडपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी दिएको हो । चाडपर्वका बेला बजारमा हुने भिडभाड, आर्थिक कारोबारमा वृद्धि, सार्वजनिक यातायातमा यात्रुको चाप र लामो समयसम्म घर तथा सरकारी कार्यालय बन्द रहने अवस्थालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

परिचालन गरिएकामध्ये जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइमा कार्यरत १ हजार ९० जना र थप मद्दतका रूपमा मगाइएका ५० जना प्रहरी छन् । प्रहरीलाई मोबाइल गस्ती, पिकेट चेकिङ, पैदल गस्ती, क्विक रेस्पोन्स टिम (क्यूआरटी), यात्रु सहायता कक्ष र सादा पोसाकमा निगरानीलगायतका काममा खटाइएको छ । जिल्लाका ३१७ भन्दा बढी स्थान तथा विभिन्न प्रकारका ड्युटीमा प्रहरी परिचालन गरिएको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्न सुरक्षा सतर्कता बढाइएको बताए । उनका अनुसार बजार, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, मठमन्दिर, धार्मिकस्थल, बैंक तथा वित्तीय संस्था, एटीएम बुथ, सुनचाँदी पसल र सार्वजनिकस्थलमा निगरानी बढाइएको छ ।

‘चाडपर्वमा सरकारी कार्यालयहरू बिदा हुन्छन् । ती कार्यालयको पनि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ,’ डीएसपी मिश्रले भने, ‘मानवीय चहलपहल धेरै हुने स्थानमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ । आपराधिक पृष्ठभूमिका व्यक्ति तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ ।’

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्लाका सबै ठाउँमा एउटै प्रकृतिको सुरक्षा चुनौती नरहेकाले स्थानको अवस्था र सम्भावित जोखिम विश्लेषण गरेर सुरक्षा व्यवस्था मिलाइएको बताए । उनका अनुसार विराटनगरका व्यस्त बजार, धार्मिकस्थल, यातायात केन्द्र, बैंक तथा वित्तीय संस्था र भारतसँग सीमा जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

‘चाडपर्वलाई लक्षित गरेर फरक हिसाबले सुरक्षाको प्रबन्ध गरिएको छ । सबै ठाउँको सुरक्षा समस्या एउटै खालको हुँदैन । ठाउँअनुसारका चुनौती विश्लेषण गरेर विशेष योजना बनाइएको छ,’ कटवालले भने । विराटनगरलगायत विभिन्न बजार एवं सहरमा चाडपर्वका बेला मानिसको चहलपहल बढ्छ । बैंक तथा वित्तीय संस्था, एटीएम बुथ र सरकारी तथा निजी कार्यालयमा हुन सक्ने चोरी तथा लुटपाट रोक्न नियमित गस्ती र सुरक्षा निगरानीको व्यवस्था मिलाइएको कटवालले बताए ।

चाडपर्वमा हुने सम्भावित अपराध रोक्न प्रहरीले जनचेतना, रोकथाम, कानुन कार्यान्वयन र प्रविधिको प्रयोगलाई सँगसँगै अघि बढाएको छ । समुदाय र सञ्चारमाध्यममार्फत सुरक्षा सचेतना फैलाउने, संवेदनशील स्थानमा गस्ती तथा चेकजाँच बढाउने, कानुनविपरीत गतिविधि गर्नेलाई नियन्त्रणमा लिने र सीसी क्यामेरामार्फत निगरानी गर्ने रणनीति अपनाइएको छ ।

प्रहरीले चोरी, पाकेटमारी, लुटपाट, डकैती, ठगी, धम्की, मानव बेचबिखन, लागुऔषध तथा हातहतियारको अवैध ओसारपसार र सीमा अपराध नियन्त्रणमा समेत ध्यान दिएको छ । चाडपर्वको मौका छोपेर हुन सक्ने नक्कली नोट तथा वैदेशिक मुद्रा ठगी, यात्रु ठगी, जुवा–तास र लङ्गुरबुर्जाजस्ता गैरकानुनी गतिविधिमाथि निगरानी बढाइएको छ । त्यस्तै, पटका तथा आतिशबाजीको अवैध कारोबार, कालोबजारी र दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि रोक्न पनि प्रहरी सक्रिय छ ।

चाडपर्वमा मदिरा सेवन गरेर सवारीसाधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने तथा झैझगडा गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच तीव्र पारिएको छ । सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु सहायता कक्ष सञ्चालन गरिएको एसपी कटवालले बताए ।

‘चाडपर्वमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप धेरै हुन्छ । यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ,’ उनले भने, ‘उच्छृङ्खल गतिविधि गर्ने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेमाथि कडाइ गरिएको छ । सार्वजनिक सवारीसाधनको चेकजाँच पनि तीव्र पारिएको छ ।’

सवारी दुर्घटना न्यूनीकरणका लागि राजमार्ग तथा व्यस्त सडकमा निगरानी बढाउनुका साथै संयुक्त चेकजाँच र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यात्राका क्रममा ठगीमा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यात्रुलाई सचेत गराउनेदेखि सार्वजनिक यातायातमा हुन सक्ने बदमासी नियन्त्रण गरिने छ ।

चाडपर्वका बेला लामो समय घर खाली राखेर बाहिर जाने परिवार चोरीको जोखिममा पर्न सक्ने भएकाले घर तथा आसपासका शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ । होटल, लज तथा रेस्टुरेन्टको नियमित चेकजाँच गर्ने, भिडभाडमा पाकेटमारी तथा चोरी हुन नदिने र शंकास्पद व्यक्ति तथा सवारीसाधनमाथि निगरानी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

भारतसँग खुला सीमा जोडिएका कारण मोरङमा सीमा अपराध तथा अवैध ओसारपसार नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ । सीमा नाकाबाट आवतजावत गर्ने शंकास्पद व्यक्ति तथा सवारीसाधनमाथि चेकजाँच कडा पारिएको र सीमा अपराध नियन्त्रणका लागि भारतीय सुरक्षा निकायसँग समन्वय तथा सहकार्य गरिने प्रहरीले जनाएको छ ।

महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने अपराध रोकथाम तथा नियन्त्रणमा समेत प्रहरी चनाखो रहेको एसपी कटवालले बताए । कुनै अप्रिय घटना भए तत्काल घटनास्थल पुग्ने गरी प्रहरी तयारी अवस्थामा राखिएको छ । सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थालाई ध्यानमा राखेर एम्बुलेन्स, दमकल र अस्पतालसँग पनि समन्वय गरिएको प्रहरीले जनाएको छ ।

‘कुनै समस्या आएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छौँ । मजबुत सुरक्षा व्यवस्था कायम गर्न सबै सरोकारवाला निकायसँग समन्वय गरेर काम भइरहेको छ,’ कटवालले भने ।

प्रहरीले चाडपर्वलाई सुरक्षित बनाउन नागरिकको सहयोग पनि उत्तिकै आवश्यक रहेको जनाएको छ । शंकास्पद गतिविधि देखिएमा, ठगी वा चोरीको जोखिम भएमा तथा कुनै आपराधिक घटना हुन सक्ने अवस्था देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन एसपी कटवालको आग्रह छ । प्रहरीले सुरक्षा सतर्कता, प्रभावकारी गस्ती र नागरिकसँगको सहकार्यबाट चाडपर्वलाई सुरक्षित, मर्यादित र उल्लासपूर्ण बनाउने लक्ष्य राखेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×