
विराटनगर । उदयपुरमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट एक हजार ४० किलोभन्दा बढी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान चौदण्डीगढी नगरपालिका-१ चारघरेस्थित रानिटार-बेल्टार भित्री सडकखण्डमा पार्किङ गरी राखिएको बोलेरो गाडीबाट प्रहरीले ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बा १४ च २२५५ नम्बरको बोलेरो गाडीमा जाँच गर्दा २९ वटा बोरामा राखिएको गाँजा फेला पारेको थियो । गाँजासहित बोलेरो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ ।

यसैगरी, आइतबार राति इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-६ स्थित सागुरी पुलनजिकैको जंगलबाट १०० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
ताप्ली गाउँपालिका-२ का २२ वर्षीय विश्वराज राईलाई पाँचवटा बोरामा राखिएको गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















