
काठमाडौं । चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट ११९ जना जवान दीक्षित भएका छन्। सिनं २३९ (ङ) को तालिम सफलतापूर्वक सम्पन्न गरेका जवानलाई आयोजित दीक्षान्त समारोहमा शपथ ग्रहण गराउनुका साथै दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
दीक्षान्त समारोहमा प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक राजेन्द्र खड्काले दीक्षित जवानको अन्तिम कवाज निरीक्षण गरेका थिए । सो क्रममा जवानले सलामी अर्पण गर्दै कवाज प्रदर्शन गरेका थिए । नायब महानिरीक्षक खड्काले तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई पुरस्कारसमेत वितरण गरे।
समारोहलाई सम्बोधन गर्दै खड्काले तालिम पूरा गरेसँगै जवानको काँधमा राष्ट्र र नागरिकको सुरक्षाको थप जिम्मेवारी आएको बताए । उनले अनुशासन, लगनशीलता, साहस र आत्मविश्वासका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिँदै नागरिकको सम्मान र सुरक्षा नै सशस्त्र प्रहरीको प्रमुख दायित्व भएको उल्लेख गरे ।
‘आज तपाईंहरूको पोसाकमा नयाँ पहिचान थपिएको छ। काँधमा नयाँ जिम्मेवारी आएको छ र जीवनमा राष्ट्रसेवाको पवित्र संकल्प जोडिएको छ,’ उनले भने। तालिमका क्रममा सिकेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रसेवामा समर्पित गर्न आग्रह गर्दै उनले कठिन परिस्थितिमा समेत अडिग रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।
नागरिकको विश्वास जितेर काम गर्नुपर्ने बताउँदै खड्काले कर्तव्य निर्वाह गर्दा कठोरतासँगै मानवीयता, साहससँगै विवेक र अनुशासनसँगै विनम्रता कायम राख्न जवानलाई निर्देशन दिए। उनले दीक्षित जवान उत्पादन गर्ने परिवार तथा तालिम प्रदान गर्ने प्रशिक्षक र शिक्षालयप्रति आभारसमेत व्यक्त गरे।
तालिम शिक्षालयका प्रमुख एवं सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक तथा समादेशक विकास घिमिरेले संगठनको भर्ना तथा छनोट प्रक्रियाका विभिन्न चरण पार गरी नियुक्त भएका जवानलाई व्यावसायिक, दक्ष, इमानदार र कर्तव्यनिष्ठ जनशक्ति बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए।
उनका अनुसार दीक्षित ११९ प्रशिक्षार्थीमध्ये ख (क्ष) समूहका आठ, ख (त्र) समूहका तीन, ग (क्ष) समूहका २०, ग (त्र) समूहका ५७ र घ (त्र) समूहअन्तर्गत ग्रेडिङमा ३१ जना रहेका छन् ।
तालिमलाई दुई चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो। पहिलो चरणमा फौजी कवाज, हतियार तालिम, सैन्य कौशल, बिपिइटी, मेडिकल, फायरिङ, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, कन्भेन्सनल युद्धकला र नक्सा अध्ययनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो।
त्यस्तै, दोस्रो चरणमा क्वार्टर गार्ड ड्रिल, सलामी, विभिन्न ऐन–कानुन, विपद् व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, सीमा सुरक्षा, माइनर ट्याक्टिक्स, फायरिङ, फिल्ड इन्जिनियरिङ र रेडियो सिग्नललगायत विषयमा प्रशिक्षण प्रदान गरिएको घिमिरेले बताए। तालिमका दुवै चरणमा पाँच–पाँच दिनका बाह्य अभ्याससमेत सञ्चालन गरिएको थियो।
दीक्षान्त समारोहमा सशस्त्र प्रहरी बलका विभिन्न तहका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख र दीक्षित जवानका अभिभावकको उपस्थिति थियो।

























