कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार १९:४७

विराटनगर । कोशी प्रदेश सरकारले विभिन्न जिल्लामा सडक तथा पुल निर्माण र स्तरोन्नतिका ६९ वटा बहुवर्षीय योजनाका लागि चार अर्ब ९५ करोड ८० लाख १६ हजार रुपियाँको स्रोत सहमति दिएको छ । यससँगै लामो समयदेखि प्रतीक्षामा रहेका विभिन्न पूर्वाधार आयोजना ठेक्का प्रक्रियामा अघि बढ्ने भएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने योजनालाई बहुवर्षीय ठेक्का प्रक्रियामा लैजान स्रोत सहमति दिएको हो । स्वीकृत योजनामा रणनीतिक सडक निर्माण, सडक स्तरोन्नति, पक्की तथा झोलुङ्गे पुल निर्माण र सडक सुरक्षा कार्यक्रम समेटिएका छन् ।

प्रदेश सरकारको निर्णयलाई राजनीतिक दलका नेताहरूले पनि स्वागत गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र पूर्वमुख्यमन्त्री तथा पार्टीका प्रदेश इन्चार्ज राजेन्द्र राईले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।

पाँचथरको फेमेखोला पक्की पुल निर्माणका लागि १८ करोड रुपैयाँकाे स्रोत सहमति भएपछि आङ्बोले यसलाई जिल्लाका लागि खुसीको खबर भनेका छन् । उनले पुल निर्माणका लागि दुई वर्षदेखि प्रदेश सभा र भौतिक पूर्वाधार विकास मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदै आएको उल्लेख गरेका छन् ।

‘अब भने क्षतिग्रस्त एप्रोच रोडसहित फेमेखोला पक्की पुल बन्ने भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । पाँचथरप्रति पूर्वाग्रह राखिएका कारण अत्यावश्यक आयोजना अघि बढ्न नसकेको टिप्पणी गर्दै उनले स्रोत सहमतिपछि पूर्वाधार विकास कार्यालयमार्फत तत्काल ठेक्का व्यवस्थापन हुने विश्वास व्यक्त गरेका छन् ।

आङ्बोले निर्णयका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिंथेप, प्रदेश सरकार र सरोकारवालालाई धन्यवाद दिएका छन् ।

त्यस्तै, पूर्वमुख्यमन्त्री राईले भोजपुरका चारवटा सडकलाई बहुवर्षीय योजनामार्फत कालोपत्रे गर्ने निर्णयलाई दसैँको उपहारका रूपमा व्याख्या गरेका छन् । आफू निर्वाचित क्षेत्रका दुई सडक खण्डसमेत कालोपत्रे हुने निर्णय भएको उल्लेख गर्दै उनले यसलाई आफ्नो पार्टी सरकारमा सहभागी हुनुको उपलब्धिका रूपमा लिएका छन् ।

राईका अनुसार गौडेनी–कुलुङ–घुमाउने चौतारा सडक, टारी गाउँ–जोशी डाँडा–तुर्के सडक र भोजपुर–तिनतले–दिङ्ला सडकको दिङ्लातर्फ बाँकी करिब चार किलोमिटर खण्ड कालोपत्रे गर्ने योजना अघि बढ्नेछ । यी आयोजनाले स्थानीयवासीलाई राहत पुग्ने उनको भनाइ छ ।

सरकारको निर्णयअनुसार मोरङको किसानचोक–टाँडी–आइतबारे–रवि सडक र ओखलढुङ्गाको प्राप्चा–श्रीचौर–खिजिफलाटे सडकका लागि २०–२० करोड रुपियाँको स्रोत सहमति दिइएको छ । पाँचथरको फेमेखोला पक्की पुलका लागि १८ करोड तथा झापाको गौरादह–दिपुचोक–खरेलडाँडा–बरगाछी हुँदै गौरीगञ्ज सडक र ओखलढुङ्गाको लिखु–खिजिफलाटे सडकका लागि १५–१५ करोड रुपियाँको स्रोत सहमति प्रदान गरिएको छ ।

यसैगरी, सुनसरीको मरिया नदीमा सडक पुल निर्माणका लागि १४ करोड ११ लाख रुपियाँ, इलामबजार–सन्दकपुर पर्यटकीय सडकका लागि १४ करोड, उदयपुरको त्रियुगा नदी पुलका लागि १३ करोड ७५ लाख र इलामको रतुवाखोला पक्की पुलका लागि १३ करोड ३३ लाख रुपियाँको स्रोत सहमति दिइएको छ ।

बहुवर्षीय योजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८३ को दफा ४(१) बमोजिम असोज २८ गतेको मन्त्रिस्तरीय निर्णयबाट स्रोत सहमति प्रदान गरिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार स्रोत सुनिश्चित नगरी नयाँ योजनालाई बहुवर्षीय ठेक्का प्रक्रियामा लैजान पाइँदैन ।

स्रोत सहमतिसँगै मन्त्रालयले छ महिनाभित्र खरिद प्रक्रिया अघि बढाउनुपर्ने सर्त राखेको छ । तोकिएको अवधिमा खरिद प्रक्रिया अघि नबढाए स्रोत सहमति स्वतः निष्क्रिय हुनेछ । त्यस्तै, चालु आर्थिक वर्षको अन्त्यसम्ममा बहुवर्षीय योजनाको कुल दायित्व कम्तीमा ३३ प्रतिशत घटाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले स्रोत व्यवस्थापनमार्फत सडक तथा पुलका आयोजना कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ । विभिन्न जिल्लाका आवश्यकतामा आधारित योजनाले यातायात पहुँच विस्तार र क्षेत्रगत विकास सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×