
काठमाडौं । दसैँका बेला वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालन हुने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका अनुसार नेपाली पक्षको आग्रहपछि चिनियाँ पक्षले नाका अस्थायी रूपमा खोल्न सहमति जनाएको हो ।
निर्णयअनुसार अक्टोबर १८ देखि २० सम्म नाका सञ्चालन हुनेछ । उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ ।
चाडपर्वका बेला आवश्यक वस्तुको आपूर्ति सहज बनाउने उद्देश्यले नाका खोल्न पहल गरिएको हो । यसबाट नेपाल–चीन व्यापारिक आवागमन सहज हुनुका साथै दसैँका लागि आवश्यक सामग्रीको आपूर्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



















