भीमफेदीमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १, आइतबार

मकवानपुर । भीमफेदीमा ईभी भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–१ बाद्रेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा आज (आइतबार) विद्युतीय गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी गाडी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा रौतहट दुर्गा भगवती गाउँपालिका–१ का ३२ वर्षीय राजेश साह, भारतको बिहारस्थित मोतिहारी जिल्लाका ३४ वर्षीय सर्फे आलम, रौतहट दुर्गा भगवती गाउँपालिका–१ पिपराटोलका ५० वर्षीय हरि साह, उनकी २६ वर्षीया छोरी चन्दा कुमारी साह र २३ वर्षीया छोरी शिवा कुमारी साह छन् ।

यस्तै, हरि साहका पाँच वर्षीय नाति आर्यन साह पनि घाइते भएका छन् । उनकी नातिनी शान्ति कुमारी साह र नाति शिवान्स साह सामान्य अवस्थामा रहेको विवरणमा उल्लेख छ। उनीहरू हरि साहको थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल गएका छन् ।

दुर्घटनामा रौतहट चन्द्रपुर नगरपालिका–११ पडरियाटोलकी २४ वर्षीया सबिता कुमारी चौधरी, यमुनामाई गाउँपालिका–४ यादवटोलका १९ वर्षीय राहुल ठाकुर र धमनीमाई नगरपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुर पनि घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×