
विराटनगर । उदयपुरको कटारीमा विद्युतीय गाडी (ईभी) को ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी खण्ड अवरुद्ध भएको छ। मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र असुरक्षित रूपमा सवारी चलाउनेमाथि कडा कारबाही गर्नुपर्ने माग राख्दै स्थानीयले आइतबार बिहान १० बजेदेखि सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि दसैँ मनाउन गन्तव्यतर्फ हिँडेका पूर्व र पश्चिम दिशामा चल्ने सयौँ साना तथा ठूला यात्रुवाहक सवारीसाधन बाटोमै रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका हुन् ।
शनिबार राति करिब ९ः३० बजेतिर गाईघाटबाट काठमाडौंंतर्फ जाँदै गरेको बा प्र ०१–००७ ख ६८४४ नम्बरको ईभीले कटारी नगरपालिका–५, भोर्लेस्थित मदन भण्डारी लोकमार्गमा विपरीत दिशाबाट आइरहेको प्र १–०५–००१ प ९६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक स्थानीय सुमन श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
कटारी–५ स्थित देवी माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत श्रेष्ठलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको थियो । उपचारकै क्रममा केही समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव कटारी अस्पतालमा राखिएको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ईभी चालक सिन्धुलीको सुनकोसी गाउँपालिका–६ का २२ वर्षीय चेतराज भुजेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । अवरुद्ध लोकमार्ग खुलाउन कटारी नगरपालिकाको पहलमा सर्वपक्षीय छलफल भइरहेको छ ।
छलफलमा इलाका प्रशासन कार्यालय कटारी, इलाका प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ तथा मदन भण्डारी लोकमार्गको रेखदेखको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालयका प्रतिनिधिहरू सहभागी छन् । पीडित पक्षका माग सम्बोधन गरी दसैँका यात्रुलाई परेको सास्ती कम गर्न र लोकमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ ।



















