
काठमाडौं । बडादशैंको दिन आज (बुधबार) देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराई क्षेत्रको मौसम सफा रहनेछ ।
हिमाली क्षेत्रका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । बुधबार राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ । तराईका केही स्थानमा भने बिहानको समयमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
त्यसैगरी, दशैंको भोलिपल्ट बिहीबार दिउँसो पनि हिमाली र पहाडी भेगमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

























