
काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज (बुधबार) विजयादशमी । मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा लगाएर आशीर्वाद ग्रहण गर्दै विजयादशमी मनाइँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको छ । टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा निर्धारण गरिएको छ । समितिका अनुसार टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्छ ।
घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको जमरा र देवीलाई अर्पण गरिएको टीका आज घरका ज्येष्ठ सदस्य तथा मान्यजनबाट ग्रहण गरी आशीर्वाद लिने परम्परा छ । यस अवसरमा परिवारका सदस्य, आफन्त र बन्धुबान्धव एकै ठाउँमा भेला भएर दसैँको खुसी साटासाट गर्छन् ।
दसैँको टीकाले टाढा रहेका परिवारका सदस्य तथा आफन्तलाई नजिक ल्याउनुका साथै आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव बढाउन मद्दत गर्छ । यस पर्वले परिवारदेखि समुदायसम्म भाइचारा र आत्मीयताको सम्बन्ध बलियो बनाउँछ ।
धार्मिक तथा पौराणिक मान्यताअनुसार विजयादशमीका दिन देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेका थिए । त्यसैले यस दिनलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयका रूपमा मनाइन्छ ।
विजयादशमीको धार्मिक पक्ष मार्कण्डेय पुराणअन्तर्गतको ‘देवीमाहात्म्य’ मा वर्णन गरिएको छ । नवरात्रभर देवी दुर्गाको पूजा–आराधना गरेपछि विजयादशमीका दिन टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ ।
दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्छ । यस दिन भगवतीलाई अर्पण गरिएको रातो तथा सेतो वस्त्र प्रसादका रूपमा ग्रहण गरी घाँटीमा लगाउने परम्परासमेत छ ।

























