
काठमाडाैं । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कम्पनीभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बिहीबार १ः३० बजेतिर (बिहानका राति ) ट्यांकीमा अचानक आगलागी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
आगलागी भएको ट्यांकीको क्षमता दुई लाख लिटर रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास गरिएको थियो । करिब २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको बताइएको छ । घटनाको कारण, क्षतिको यकिन विवरण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























