
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-१ आँपघारीस्थित रोशी खोलामा डुबेर आमा–छोरीको मृत्यु भएको छ ।
बुधबार दिउँसो करिब ४ बजे नुहाउने क्रममा खोलाको दहमा डुबेका ३७ वर्षीया सत्यदेवी कोइराला र उनकी ९ वर्षीया छोरी पूजा खड्काको मृत्यु भएको हो ।
ओखलढुंगाको चम्पादेवी गाउँपालिका-६ घर भएकी सत्यदेवी हाल माइतीघर सुनकोशी गाउँपालिका–१ आँपघारीमा बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार घटनाको खबर प्राप्त भएपछि कुशेश्वर दुम्जाबाट खटिएको प्रहरी टोलीले सत्यदेवीलाई पानीबाट बाहिर निकालेर किनारमा राखेको थियो । त्यसपछि खोजतलास गर्ने क्रममा साँझ ५:४५ बजे उनकी छोरी पूजालाई पनि खोलाको दहभित्रबाट निकालिएको थियो ।
घटनास्थलमा थप अनुसन्धान तथा उद्धारका लागि खुर्कोटस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीसहित १७ जनाको संयुक्त टोली खटिएको प्रहरीले जनाएको छ ।

























