
इटहरी । जीवनका चोट, अधुरा चाहना र मनभित्र दबिएका भावनाबीच पनि मानिसले आशा मार्दैन । हरेक बिहान नयाँ सम्भावनाको खोजीमा अघि बढिरहन्छ । यस्तै मानवीय संवेदना र जीवनको अर्थ खोज्ने भाव समेटिएको गायिका ऋचा काफ्लेको नयाँ गीत ‘म बाँचेको सार के हो खोजी गर्दै छु’ सार्वजनिक भएको छ ।
विश्लेषक तथा गीतकार डम्बर खतिवडाको शब्द र मोहन तिम्सिनाको संगीत रहेको गीतले जीवनका आरोह–अवरोह, मनका पीडा र सपना पूरा गर्ने निरन्तर प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ ।
गीतका शब्दमा निराशा र आशा, खुसी र पीडा तथा भत्किने र फेरि सम्हालिने जीवनका अनेक आयाम भेटिन्छन्। ‘दिनदिनै बौरिँदै छु दिनै मर्दै छु’ भन्ने पंक्तिले मानिसको जीवनमा भइरहने आन्तरिक संघर्षलाई चित्रण गर्छ । त्यस्तै, ‘केही चाहना छन्, बलेँसीमा रुन्छन्’ र ‘केही भावना छन्, अचानोमा हुन्छन्’ जस्ता अभिव्यक्तिले अधुरा रहर र मनभित्र गुम्सिएका वेदनालाई कलात्मक ढंगले उजागर गरेका छन् ।
जीवनमा झरी, बादल र भेल आइरहे पनि ‘तर पनि इन्द्रेणीको सिँढी चढ्दै छु’ भन्ने भावले कठिनाइबीच पनि उज्यालो भविष्यको सपना देख्न नछाड्ने सन्देश दिन्छ । सुखका क्षणसँगै मुटुमा चोट लाग्ने अनुभवसमेत बोकेको गीतले मानिसको जीवन सधैँ एउटै लयमा नचल्ने यथार्थलाई आत्मसात् गरेको छ ।
गीतमार्फत जीवनको अर्थ खोजिरहेकी ऋचा आफैँ पनि जिम्मेवारी र सृजनशीलताको सन्तुलन मिलाउँदै गायनमा सक्रिय छिन् । सुनसरीको बकलौरी स्वास्थ्य चौकीमा नर्सका रूपमा कार्यरत उनी हाल अध्ययन बिदामा पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङको थप अध्ययन गरिरहेकी छन् ।
स्वास्थ्य सेवाको जिम्मेवारी, अध्ययन र दुई छोराको हेरचाहसँगै उनले संगीत यात्रालाई समेत निरन्तरता दिँदै आएकी छन् । उनको औपचारिक गायन यात्रा २०७४ सालमा ‘नफक्रँदै फूलको चोला’ गीतबाट सुरु भएको हो । त्यसयता उनले एक दर्जनभन्दा बढी गीतमा एकल स्वर दिइसकेकी छन् । ‘एक आनी दुवानी’ र ‘कुरा बुझे बरिलै’ उनका सार्वजनिक भइसकेका गीत हुन् ।
ऋचाको नयाँ गीतले जीवनको सार के हो भन्ने प्रश्नको एउटै उत्तर दिँदैन । बरु, जीवनमा आइपर्ने चोट र निराशाबीच पनि फेरि उठ्ने, आफ्ना सपना जोगाउने र आशाका किरण खोजिरहने मानवीय स्वभावलाई श्रोतासामु प्रस्तुत गर्छ । यही भावले गीतलाई केवल संगीतको प्रस्तुति नभई जीवनका अनुभूति र संघर्षको अभिव्यक्तिका रूपमा उभ्याएको छ ।



















