
जनकपुरधाम । बालिका र एक युवकमाथि दुर्व्यवहार गर्दै भिडियो सार्वजनिक गर्ने धम्की दिएको तथा मोबाइल बैंकिङमार्फत रकम असुल गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार उनीहरूलाई आपराधिक लाभ लिन खोजेको र बाल यौन दुरुपयोगसम्बन्धी कसुरको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० मा एक बालिका र एक युवकमाथि दुर्व्यवहार गरी भिडियो बनाएको र उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा आरोपितहरूले पीडितलाई घेरा हाली भिडियो बनाउनुका साथै सामाजिक सञ्जालमा अपलोड गरिदिने भन्दै धम्क्याएको खुलेको छ।
त्यसैगरी, आरोपितहरूले पीडितका अभिभावकलाई फोन गरेर धम्की दिँदै मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँसमेत स्थानान्तरण गर्न लगाएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट ज १२ प ७७७७ र मधेस प्रदेश ०२–०१ प २९०२ नम्बरका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

























