
विराटनगर । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आइतबार (आज) कोजाग्रत पूर्णिमाका अवसरमा महालक्ष्मीको पूजा आराधना र रातभर जाग्राम बसेर समापन गरिँदै छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको १५ दिन लामो दसैँ पर्व आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुने धार्मिक परम्परा छ।
कोजाग्रत पूर्णिमाको साँझ धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने चलन छ। धार्मिक मान्यताअनुसार यस रात पृथ्वीको भ्रमणमा निस्कने महालक्ष्मी जाग्राम बसेका मानिसका घरमा प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन्। यही विश्वासका आधारमा कोजाग्रत पूर्णिमा मनाउने गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराईले बताएका छन्।
समितिका अनुसार आज शास्त्रअनुसार गर्नुपर्ने अखिल बलि पूर्तिको काम पनि सम्पन्न हुन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम समाप्त हुन्छ। दसैँमा लगाइएको जमरा आज नजिकैको नदी, तलाउ वा पोखरीलगायत पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने चलन छ।
महालक्ष्मीको पूजा गरिने भएकाले कोजाग्रत पूर्णिमाको विशेष धार्मिक महत्त्व रहेको छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। आज राति जुवा खेल्ने धार्मिक परम्परा रहेको उल्लेख गर्दै भट्टराईले महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको समेत पूजा गर्नुपर्ने बताए।
नवरात्र विजयादशमीकै दिन समाप्त भए पनि समग्र दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमासँगै सकिन्छ। यसपछि कार्तिक स्नान तथा तुलसीको विशेष पूजा आराधना कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। त्यसैगरी आकाशदीपदान पनि सोमबार साँझदेखि सुरु गरिनेछ।

























