प्रहरीलाई सामाजिक सञ्जालमा पोसाकको फोटो राख्नदेखि राजनीतिक टिप्पणी गर्नसम्म रोक

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार १४:३८

विराटनगर । नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गर्दै प्रहरी पोसाकमा तस्बिर तथा भिडियो सार्वजनिक गर्न, संगठनको छविमा आँच आउने सामग्री पोस्ट गर्न र सरकार तथा प्रहरी नेतृत्वविरुद्ध टिप्पणी गर्न रोक लगाएको छ ।

प्रहरी कर्मचारीले सामाजिक सञ्जालको दुरुपयोग गर्ने क्रम बढेको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले मातहतका सबै कार्यालयलाई विशेष परिपत्र गरेको हो । सचिवालयले कर्मचारीलाई अनिवार्य अनुशिक्षण गराउन र प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउनसमेत निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयले असोज २७ गते गरेको परिपत्रमा प्रहरी कर्मचारीले पोसाकमा टिकटक भिडियो बनाउने, फेसबुकमा तस्बिर राख्ने, रिल बनाउने तथा ड्युटीका क्रममा कार्यालयका संवेदनशील स्थानमा फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेको उल्लेख छ । त्यस्तै, अश्लील तथा अमर्यादित सामग्री प्रकाशन गर्ने, प्रहरी संगठनको छविमा आँच पुर्‍याउने, चेन अफ कमान्ड उल्लंघन गरी सामाजिक सञ्जालमा टिप्पणी गर्ने र सरकार तथा नेतृत्वविरुद्ध कमेन्ट गर्ने प्रवृत्ति बढेको भन्दै सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश, २०७७ र सामाजिक सञ्जालको व्यवस्थित प्रयोगसम्बन्धी निर्देशिकाविपरीतका गतिविधि नगर्न यसअघि पनि पटकपटक निर्देशन दिइएको भन्दै सचिवालयले थप कडाइ गरेको हो । निर्देशनविपरीतका गतिविधि भइरहेपछि प्रहरी प्रधान कार्यालयले अनुशिक्षण र प्रतिबद्धतालाई अनिवार्य बनाएको हो ।

सामाजिक सञ्जाल प्रयोगसम्बन्धी प्रस्तुतीकरणसहित प्रधान कार्यालयले पठाएको पत्रमा मातहतका कार्यालयले सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुशिक्षण दिनुपर्ने उल्लेख छ । साथै, सामाजिक सञ्जाल प्रयोगसम्बन्धी प्रतिबद्धता पत्रमा कर्मचारीको सहीछाप गराई अभिलेख सुरक्षित राख्न र त्यसको जानकारी प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखालाई दिन निर्देशन दिइएको छ ।

प्रतिबद्धता पत्रमा प्रहरी कर्मचारीले संगठनको मर्यादा, प्रतिष्ठा, व्यावसायिक आचरण तथा प्रचलित कानुन र निर्देशन पूर्ण रूपमा पालना गर्ने उल्लेख छ । संगठनको छवि र जनविश्वासमा आँच आउने सामग्री प्रकाशन, प्रसारण, टिप्पणी वा सेयर नगर्ने प्रतिबद्धता पनि गराइएको छ ।

त्यसैगरी, गोप्य सूचना, अनुसन्धानसम्बन्धी विवरण, आन्तरिक गतिविधि, गोप्य कागजात, प्रहरी परिचालन योजना, सुरक्षा रणनीति तथा अन्य संवेदनशील सूचना अधिकारप्राप्त निकायको स्वीकृतिबिना सार्वजनिक गर्न पाइने छैन । प्रहरी पोसाक, कार्यालय परिसर, हातहतियार, प्रहरी सवारीसाधन, सञ्चार उपकरण तथा प्रहरी कारबाहीसँग सम्बन्धित सामग्री पनि प्रचलित नीति र निर्देशनविपरीत सामाजिक सञ्जालमा राख्न रोक लगाइएको छ ।

प्रहरी कर्मचारीले सेवाग्राही, पीडित, अभियुक्त, थुनुवा र साक्षीको व्यक्तिगत विवरण तथा गोपनीयतासम्बन्धी सामग्री कानुनविपरीत सार्वजनिक गर्न पाउने छैनन् । अपुष्ट समाचार, भ्रामक सूचना र अफवाहको सत्यता नबुझी सेयर गर्ने, लाइक गर्ने वा टिप्पणी गर्ने कार्य नगर्न पनि प्रतिबद्धता गराइएको छ । जातीय, धार्मिक, लैंगिक तथा राजनीतिक आधारमा द्वेष फैलाउने र हिंसा भड्काउने गतिविधिमा संलग्न हुनसमेत निषेध गरिएको छ ।

प्रहरीको आचारसंहितासम्बन्धी कार्यादेश, २०७७ को दफा १९ मा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचरण व्यवस्था गरिएको छ । दफा २० मा गर्न हुने र नहुने कार्य तथा दफा २१ मा कार्यालय सुरक्षासम्बन्धी व्यवस्था उल्लेख छ । तोकिएको प्रवक्ताबाहेक अन्य कर्मचारीले सञ्चारमाध्यमलाई सूचना नदिने र आधिकारिक पेजबाहेक व्यक्तिगत रूपमा कार्यालयका पत्र तथा कागजात सार्वजनिक नगर्ने व्यवस्थालाई पनि जोड दिइएको छ ।

निर्देशनअनुसार कार्यालय प्रमुखले नियमित रोलकल तथा अनुशिक्षणमार्फत कर्मचारीलाई प्रशिक्षित गर्नुपर्नेछ । मातहतका कर्मचारीको सामाजिक सञ्जाल गतिविधिको निगरानी गर्ने, दुरुपयोगको प्रमाण सुरक्षित राख्ने र प्रहरी नियमावलीअनुसार विभागीय कारबाहीको प्रक्रिया अघि बढाउने जिम्मेवारीसमेत कार्यालय प्रमुखलाई दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालको अनुगमन गर्न छुट्टै डेस्कमार्फत निगरानी गर्ने र दुरुपयोग गर्ने कर्मचारीमाथि बयान लिएर विभागीय कारबाही गरिने जनाएको छ । नक्कली परिचयबाट सामाजिक सञ्जाल प्रयोग गरी दुरुपयोग गर्नेहरूमाथि साइबर ब्युरोसँग समन्वय गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार फौजदारी कारबाहीसमेत अघि बढाउन सकिने व्यवस्था प्रस्तुतीकरणमा उल्लेख छ ।

प्रतिबद्धतापत्रमा उल्लिखित सर्त उल्लंघन गरेमा विद्युतीय कारोबार ऐन र प्रहरी नियमावली, २०७१ अनुसार कारबाहीको भागीदार हुनुपर्ने नेपाल प्रहरीका प्रवक्ता डीआईजी डीआईजी अविनारायण काफ्लेले बताए । यसबाट प्रहरी कर्मचारीको सामाजिक सञ्जाल प्रयोगलाई थप व्यवस्थित बनाउँदै संगठनको अनुशासन, गोपनीयता र जनविश्वास कायम राख्ने उद्देश्य रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने काम अब हुँदैनः थापा
बेलायतका नेपालीले दिए बाढीपीडितका लागि एक करोड
कोशी प्रदेश : पर्यटन वर्षमा करोडौँ खर्च, पर्यटक आगमन भने २२ प्रतिशतले घट्यो
एनपीएललाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीको सात बुँदे आग्रह
दसैँपछि ओरालो लाग्यो नेप्से
विपद् पर्खेर होइन, पूर्वतयारी गरेर जोगिऔँ
विराटनगरमा डीडीसीका कारण बस्ती कालाम्मे, स्थानीयको स्वास्थ्य जोखिममा
कटारीमा बोलेरो दुर्घटना हुँदा चालकसहित १५ जना घाइते 
कटारीमा बोलेरो दुर्घटना हुँदा चालकसहित १५ जना घाइते 
प्रहरीलाई सामाजिक सञ्जालमा पोसाकको फोटो राख्नदेखि राजनीतिक टिप्पणी गर्नसम्म रोक
तीन ज्यान लिने हात्तीको त्रास, गाउँगाउँमा गस्ती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×