
झापा । स्वदेशी सयपत्री फूलले बजार नपाउने अवस्था अन्त्य गर्न झापाका फूल उत्पादक किसानले प्रशासनसँग माग गरेका छन् । उनीहरूले भारतबाट हुने फूलको आयात रोक्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
केही वर्षयता झापामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ । तर, भारतबाट आयातित फूलका कारण स्थानीय उत्पादनले बजार नपाउँदा बोटमै खेर जाने समस्या देखिएको विर्तामोडकी कृषक शुष्मा पौडेलले बताइन् ।
पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको छ । मागपत्रको पहिलो बुँदामा स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनुपर्ने उल्लेख छ ।
स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था रहेकाले भारतीय फूलको आयात रोक्न नीतिगत पहल गर्नुपर्ने किसानको माग छ। स्वदेशी उत्पादनको संरक्षण र लगानीको सुरक्षाका लागि आफूहरूले प्रजिअ पोखरेलको ध्यानाकर्षण गराएको पौडेलले बताइन्।
किसानका अनुसार जिल्लामा १५ देखि २० हेक्टर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । विगतमा स्थानीय फूलले उचित बजार नपाउँदा आर्थिक क्षति व्यहोर्नुपरेको उनीहरूको गुनासो छ ।
विर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । लाखौँ रुपैयाँ लगानी, श्रम र समय खर्चेर गरिएको फूलखेतीले रोजगारी र आयआर्जनको अवसर सिर्जना गरे पनि बजार र लगानीको संरक्षणमा राज्यले पर्याप्त चासो नदिएको किसानहरूको भनाइ छ ।
किसानले भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न सीमा र भन्सारमा प्रभावकारी अनुगमन गर्न, स्थानीय उत्पादनले न्यायोचित मूल्य र सहज बजार पाउने व्यवस्था मिलाउन तथा सरकारी कार्यालय, विद्यालय, होटल र सङ्घसंस्थामा स्वदेशी फूलको प्रयोगलाई प्रोत्साहन गर्न माग गरेका छन् ।
त्यसैगरी, फूलखेतीसम्बन्धी वास्तविक तथ्याङ्क सङ्कलन गरी दीर्घकालीन योजना बनाउन र उत्पादनको संरक्षण तथा बजार विस्तारका लागि सरकारी सहयोग उपलब्ध गराउन पनि उनीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत माग गरेका छन् ।

























