
काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पोखरा एभेन्जर्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
दीपेन्द्रले ३६ बलमा ४ चौका र २ छक्कासहित ५५ रन बनाए। उनलाई साथ दिएका इशान पाण्डेले ३१ बलमा ३७ रन जोडे । यी दुईले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे। पाण्डे आउट भएपछि आएका शेर्फन रदरफोर्ड ८ रनमा अविजित रहे । सुदूरपश्चिमले सुरुवातमै विनोद भण्डारीलाई ४ रनमा गुमाएको थियो । त्यसपछि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रन जोडे। सैफ १४ र ब्रान्डन २२ रनमा आउट भ । बलिङमा पोखराका धनञ्जय लक्षन, महेदी हसन र शाकिब अल हसनले एक–एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्जुनले अन्तिम ओभरमा १५ रन जोडे । महेदी हसनले ३२ रन बनाए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । महेदी छैटौँ ओभरको पाँचौँ बलमा अनिल खरेलको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए ।
पोखराका ओपनर दिनेश खरेल तेस्रो ओभरको दोस्रो बलमा ७ बलमा ४ रन बनाएर हेमन्त धामीको बलमा आउट भए । कुशल भुर्तेलले १७ बलमा २ चौकासहित २१ रन बनाए । उनी दशौँ ओभरको पहिलो बलमा दीपेन्द्रको बलमा क्याच आउट भए । शाकिब अल हसनले १४, धनञ्जय लक्षनले ११, सदिरा समरविक्रमले ८ र किरण ठगुन्नाले १ रन बनाए । विपिन खत्री ५ रनमा अविजित रहे ।
सुदूरपश्चिमका अनिल खरेलले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। हेमन्त धामी, स्कट कुगेलेइन र दीपेन्द्रले एक–एक विकेट लिए । बिहीबार एनपीएलमा दुई खेल हुनेछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज दिउँसो साढे १२ बजे भिड्नेछन्। दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स साँझ ५ बजे खेल्ने तालिका छ ।

























