सौराहामा पहिलो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप हुने

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार १६:४४
सौराहामा पहिलो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप हुने

काठमाडौं । चितवन तेक्वान्दो डोजाङको आयोजनामा कात्तिक १३ देखि १५ गतेसम्म ‘प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप–२०२६’ हुने भएको छ ।

चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक प्रज्वल दवाडीले जानकारी दिए । उनले यस प्रतियोगिताले नेपाली तेक्वान्दोको विकासमा एउटा इँटा थप्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा नेपालका सातवटै प्रदेश र आयोजक टोलीसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया, जापानलगायत विभिन्न देशका खेलाडी तथा टोलीको सहभागिता रहने अपेक्षा आयोजकको छ । करिब ८ सय खेलाडी सहभागी हुने बताइएको छ ।

प्रतियोगितामा तेक्वान्दोका पुम्से र ग्योरोगी विधाका विभिन्न उमेर समूह तथा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने, अनुभव आदान प्रदानको अवसर सिर्जना गर्ने र खेलकुदमार्फत अन्तर्राष्ट्रिय मित्रता विस्तार गर्ने लक्ष्य रहेको वरिष्ठ मास्टर रोशन खानले बताए ।

प्रतियोगितामा टिमतर्फ प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी, उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष खेलाडी, उत्कृष्ट ग्योरोगी महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालनका लागि नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ तथा चितवन जिल्ला तेक्वान्दो संघको सहयोग र समन्वय रहनेछ । ‘हामीले यो प्रतियोगितालाई खेलकुदमा मात्र सीमित राखेका छैनौँ । सौराहा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको आगमनले चितवनको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास लिएका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यस प्रतियोगितामार्फत सौराहालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न, स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न र चितवनको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान पुग्ने अन्तर्राष्ट्रिय संयोजक तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×