स्वास्थ्य जटिल बनेपछि डा. केसीलाई काठमाडौं लैजाने तयारी

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार ०८:३६

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं लैजान लागिएको हो । त्यसका लागि सेनाको हेलिकप्टर इलाम आउँदै गरेको स्थानीय प्रशासनले जनाएको छ ।

इलाम अस्पतालमा उपचाररत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चिकित्सकले थप उपचारको आवश्यकता औँल्याएका हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको रगतमा ग्लुकोजको मात्रा निकै कम भएको र मुटुको चालमा समेत गडबडी देखिएको छ । रगतमा ग्लुकोजको मात्रा घटेर ३५ मिलिग्राम प्रतिडेसिलिटरमा झरेको अस्पतालले जनाएको छ । पिसाबमा एसिटोनको मात्रा बढ्नुका साथै रक्तचाप पनि १००–६० रहेको चिकित्सकले बताएका छन् ।

चिकित्सकले उनको स्वास्थ्यमा थप जोखिम आउन नदिन ग्लुकोज दिन आग्रह गरे पनि डा. केसीले अस्वीकार गर्दै आएका छन् । शरीरमा पानी चढाइरहेको भए पनि ग्लुकोजको मात्रा अत्यधिक कम हुँदा थप स्वास्थ्य जटिलता उत्पन्न हुन सक्ने उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

डा. केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै इलाम अस्पतालले तत्काल प्रतिकार्य टोली समेत गठन गरेको छ । अस्पतालको पत्रअनुसार मेडिकल सुपरिटेन्डेन्टको संयोजकत्वमा कन्सल्टेन्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट र मेडिकल अधिकृत सम्मिलित चार सदस्यीय टोली बनाइएको हो ।

टोलीले डा. केसीको स्वास्थ्य अवस्थाको नियमित निगरानी, आवश्यकताअनुसार तत्काल स्वास्थ्य सेवा तथा आकस्मिक उपचारको व्यवस्था मिलाउनेछ । अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे नियमित अनुगमन र मूल्याङ्कन गर्दै आवश्यक उपचार उपलब्ध गराउने जनाएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा. केसीले गत कात्तिक १२ गते साँझदेखि इलामको नारायणस्थानमा २५औँ सत्याग्रह सुरु गरेका थिए । सत्याग्रहको तेस्रो दिन स्वास्थ्य अवस्था कमजोर बनेपछि उनलाई शनिबार राति एम्बुलेन्समार्फत इलाम अस्पताल पुर्‍याइएको थियो ।

डा. केसीले कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्ति नपुगी चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न सिट निर्धारण गरिएको भन्दै त्यसको निर्णय खारेज गर्न माग गरेका छन् । चिकित्सा शिक्षा ऐन र निर्धारित मापदण्डविपरीत मेडिकल कलेजमा बढाइएका सिट खारेज गर्नुपर्ने उनको अर्को माग छ ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा गेटा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी नियुक्ति र निर्णय प्रक्रियाबारे निष्पक्ष छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कायम राख्नुपर्ने माग उनले अघि सारेका छन् ।

सरकारसँग गत साउन ११ गते भएका सहमति कार्यान्वयन गर्नुपर्ने तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने पुराना सहमति पूरा गर्नुपर्ने पनि उनका माग छन् ।

तपाइको प्रतिक्रिया
डा. केसीको अनशन र सरकारको जवाफदेहिता
विराटनगर जेसिजद्वारा दुई जना सम्मानित
पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै खापुङ, प्रदेश प्रमुखको भूमिकामा बने उदाहरण
संसद् नखुले सरकारका गतिविधिमाथि प्रश्न उठाउने ठाउँ साँघुरिने विपक्षीको ठहर
बिचौलिया प्रकरणमा कांग्रेसको आपत्ति
महाभियोगमा रास्वपा अलमल
झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह
पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग
रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.