
काठमाडौं । पश्चिमी वायुको प्रभावसँगै देशका विभिन्न भू–भागमा आज (सोमबार) बिहानैबाट मौसम बद्ली भएको छ । विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दार्चुला, बझाङ र हुम्लाका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । सोमबार देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी क्षेत्रका छिटपुट स्थानमा वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा समेत एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैबीच, बंगालको खाडीमा विकसित चक्रवात मुरासुले नेपालको मौसममा ठूलो प्रभाव पार्ने सम्भावना नरहेको महाशाखाले स्पष्ट पारेको छ । महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार आइतबार बिहान ११ः४५ बजे दक्षिणपश्चिम तथा मध्यपश्चिम बंगालको खाडीमा चक्रवाती आँधी मुरासु विकसित भएको थियो । सोमबार यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना थियो ।
मुरासु पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रस्थित नेल्लौर र नरसापुरबीचबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ । शक्तिशाली आँधीका रूपमा भारतको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहे पनि यसको प्रत्यक्ष प्रभाव नेपालमा उल्लेखनीय नहुने महाशाखाको आकलन छ ।

























