
काठमाडौं । वातावरण संरक्षण र जलवायु परिवर्तनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले विश्व साइकल यात्रामा रहेका नेपाली साइकलयात्री शुभप्रसाद शर्मालाई क्यानाडाको स्कार्बोरोमा सम्मान गरिएको छ ।
सन् २०२२ अप्रिल १४ मा काठमाडौंमा एउटा बिरुवा रोपेर सुरु गरेको उनको अभियानअन्तर्गत हालसम्म २७ देशको यात्रा, करिब २७ हजार किलोमिटर साइकल यात्रा र ६० हजार बिरुवा रोप्ने काम सम्पन्न भएको जनाइएको छ ।
शर्मालाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा पशुपति तथा बुद्ध मन्दिरका अध्यक्ष निल पौड्याल, नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेजका अध्यक्ष सुदर्शन सापकोटा, सिर्जनशील समाजका संस्थापक अध्यक्ष शिशिर पाण्डे तथा फिस्टेल स्पोर्ट्स क्लबका महासचिव कृष्ण पौडेलले उनको अभियानको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा विश्व साइकलयात्री शर्माले यात्राका अनुभव, उद्देश्य, चुनौती र आगामी योजनाबारे जानकारी गराएका थिए ।
सो अवसरमा उनलाई मायाको चिनोसहित आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो । व्यक्तिगत तथा संस्थागत सहयोगबाट अघि बढिरहेको अभियानलाई निरन्तरता दिन शर्माले सबैको साथ, सहयोग र शुभेच्छा अपेक्षा गरेका छन् ।
आगामी पाँच वर्षभित्र १५० देश पुगेर वृक्षरोपण गर्ने उनको लक्ष्य छ । मन्दिर परिसरमा आयोजित कार्यक्रममा करिब एक सय जनाको उपस्थिति रहेको थियो ।

























