विराटनगरको बालसुधार गृहमा छापा, गाँजा र मोबाइल बरामद

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १६:५८

विराटनगर । विराटनगरस्थित बालसुधार गृहमा प्रहरीले छापा मारेर लागुऔषध गाँजा र ६ थान मोबाइलसहित सुर्तीजन्य वस्तु बरामद गरेको छ ।

प्रहरीले छापा हानेसँगै बालसुधार गृहभित्र कसरी लागुऔषध पुग्यो भन्ने प्रश्न उठेको छ । साथै, सुधार गृहभित्र मोबाइल प्रयोग गर्न प्रतिबन्ध रहे पनि बालबिज्याइँकर्ताले लुकिछिपी मोबाइल प्रयोग गर्दै आएको पत्ता लागेको छ ।

विराटनगर महानगरपालिका–३ स्थित बालसुधार गृहमा सोमबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले सर्च अभियान सञ्चालन गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर उमेशलाल श्रेष्ठ र वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर साजन महतराको नेतृत्वमा ४० जनाको प्रहरी टोली बिहान १०ः१५ बजे सुधार गृह पुगेको थियो ।

प्रहरीले बिहान ११ः४० बजेसम्म खोजतलास गरेको थियो । दिउँसो १२ः५० बजेसम्म छापा हान्दा सानो पोका गाँजा, ६ थान मोबाइल र सुर्तीजन्य वस्तु फेला परेको हो । बालसुधार गृहका प्रमुख सञ्जीव न्यौपानेले प्रशासनबाट नियमित रूपमा हुने चेकजाँचका क्रममा बालबिज्याइँकर्ताले प्रयोग गर्दै आएका मोबाइल बरामद भएको जानकारी दिए । ‘

प्रशासनबाट नियमित रूपमा चेकजाँच हुने गरेको छ । सोही क्रममा सुधार गृहभित्र रहेका बालबिज्याइँकर्ताले प्रयोग गर्दै आएका मोबाइल बरामद भएका हुन्,’ उनले भने । सुधार गृहको सुरक्षाका लागि नेपाल प्रहरीका एक जना असईको नेतृत्वमा ११ जना प्रहरी खटिएका छन् । सुरक्षा व्यवस्था हुँदाहुँदै पनि बालबिज्याइँकर्ताका आफन्तले सुरक्षाकर्मीको आँखा छलेर गाँजा र मोबाइल भित्र पुर्‍याएको हुन सक्ने अनुमान गरिएको छ ।

बालसुधार गृहमा क्षमताभन्दा निकै बढी बालबिज्याइँकर्ता राखिएका छन् । ५० जनाको क्षमता रहेको ब्लकमा १९३ जना रहेका छन् । त्यस्तै, मोरङ कारागारभित्र ६२ जनलाई राखिएको छ । कारागारमा १८ वर्ष उमेर नाघेका र उच्छृङ्खल गतिविधिमा संलग्न भएकाहरूलाई राखिएको हो । दुवै ब्लकमा गरी सोमबारसम्म २५५ जना रहेका छन् ।

यसअघि पनि मोरङ कारागारभित्र रहेका बालबिज्याइँकर्तालाई भेट्न जाने क्रममा दुई जना युवतीको साथबाट लागुऔषध बरामद भएको थियो । सशस्त्र प्रहरीले शंका लागेर कारागारको मुख्य गेटमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागुऔषध फेला पारेको थियो ।

सुधार गृहभित्र प्रतिबन्धित मोबाइल तथा लागुऔषधजन्य वस्तु कसरी प्रवेश गरिरहेका छन् भन्ने विषयले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ । क्षमताभन्दा पाँच गुणा बढी बालबिज्याइँकर्ता रहेको बालसुधार गृहमा सुरक्षाका लागि प्रहरीसमेत परिचालन गरिएको अवस्थामा यस्ता वस्तु फेला पर्नुले सुधार गृहभित्रको निगरानी र नियन्त्रण प्रणालीमाथि थप चासो बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.