
इलाम । मेची करिडोरअन्तर्गत बेलासे–सोमबारे–गोदामधारा सडक खण्डमा कालोपत्रे गर्ने कार्यका लागि विभिन्न मितिमा यातायात आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले सोमबार एक सूचना जारी गर्दै यो जानकारी दिएको हो । प्रशासनले सडक डिभिजन इलामको पत्रका आधारमा सडक बन्द हुने सूचना जारी गरेको जनाएको छ ।
सडक कालोपत्रे गर्ने प्रयोजनका लागि साना सवारीसाधनहरू कात्तिक १७ र १८ गते तथा ६ चक्केसहितका ठूला सवारीसाधनहरू कात्तिक १७ गतेदेखि २० गतेसम्मका लागि पूर्ण रूपमा बन्द रहने जनाइएको छ ।
तोकिएको अवधिमा आवतजावतका लागि वैकल्पिक सडक मार्गहरू प्रयोग गर्न प्रशासनको भनाइ छ । प्रशासनले तोकेका वैकल्पिक मार्गहरूअनुसार साना सवारीसाधनका लागि मेची राजमार्ग राजदुवाली सडक खण्ड प्रयोग गर्न सकिने छ ।
त्यस्तै, ठूला सवारीसाधनका लागि मेची राजमार्ग तिल्केनी–सिमलगोलाई सिलपुर सडक खण्ड तोकिएको छ । यसैगरी, साना सवारीसाधनका लागि देउमाई मंगलबारे बेलासे सडकखण्डको सोयाक भञ्ज्याङबाट गुनगुने हुँदै दानाबारी सडक खण्ड प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ । यसका लागि देउमाई नगरपालिका र वडा कार्यालय सोयाकसँग सम्पर्क गर्नुपर्ने जनाइएको छ ।

























