
काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका प्राध्यापक डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि काठमाडौं ल्याइएका केसीका माग सम्बोधन गर्न अविलम्ब वार्ता थाल्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
इलाममा २५औँ अनशन थालेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ ।
इलामको नारायणस्थान मन्दिर परिसरमा बिहीबारदेखि अनशन थालेका केसीलाई सुरुमा इलाम अस्पताल भर्ना गरिएको थियो । त्यहाँ थप उपचार आवश्यक रहेको भन्दै अस्पतालले सिफारिस गरेपछि उनलाई काठमाडौं ल्याइएको हो ।
केसीका सहयोगी पवन थापाका अनुसार इलाम अस्पतालमै उनलाई सास फेर्न गाह्रो भएपछि अक्सिजन दिइएको थियो । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि चिकित्सकको सल्लाहमा सुविधासम्पन्न अस्पताल ल्याइएको उनले बताए ।
संघका अनुसार केसीको शरीरमा सुगर र अक्सिजनको मात्रा कम हुनुका साथै स्वास्थ्य परीक्षणमा समेत कठिनाइ देखिएको छ । उनको स्वास्थ्य अवस्था थप जटिल हुन नदिन आवश्यक उपचार र स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन संघले माग गरेको छ ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि केसीले उठाएका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच तथा सुशासनका लागि आवाज उठाउँदै आएका केसीको जीवनरक्षाका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने संघको भनाइ छ ।
सरकारसँग छ बुँदे माग राख्दै केसीले अनशन थालेका हुन् । गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधारबिनै एमबीबीएसलगायत चिकित्सा शिक्षा कार्यक्रमका लागि तोकिएका सिट खारेज गर्नुपर्ने उनको प्रमुख माग छ ।
त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी उनीहरूको स्वार्थको द्वन्द्वबारे छानबिन गर्नुपर्ने र गेटा अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेलगायत माग पनि उनले अघि सारेका छन् । अनशनको पाँचौँ दिनमै स्वास्थ्यमा जटिलता देखिएपछि संघले सरकारलाई तत्काल वार्ता गरी समस्याको समाधान खोज्न र केसीको जीवनरक्षा गर्न आग्रह गरेको हो ।



















