
ओखलढुंगा । कुनै समय तिहार नजिकिँदै गर्दा ओखलढुंगाका मादल बनाउने कालीगढलाई भ्याइनभ्याइ हुन्थ्यो । नयाँ मादल बनाउन र पुराना मादल मर्मत गर्न ग्राहकको भीड लाग्थ्यो । तर अहिले अवस्था फेरिएको छ । दक्ष कालीगढको अभाव, कच्चा पदार्थको समस्या र मादलको घट्दो प्रयोगका कारण स्थानीय बजारमा नयाँ मादल पाउनै मुस्किल हुन थालेको छ ।
करिब ५६ वर्षदेखि मादल बनाउने काम गर्दै आएका ठूलाछापका नीरकाजी बिशङ्खेले यो परिवर्तन नजिकबाट अनुभव गरेका छन् । कुनै समय तिहार उनका लागि वर्षकै व्यस्त सिजन हुन्थ्यो । नयाँ मादल बनाउन र पुराना मादल मर्मत गर्न आउने ग्राहकको चापले फुर्सद मिल्दैनथ्यो । तिहारको समयमा नयाँ र पुराना गरी सयौँ मादल बनाउने तथा मर्मत गर्ने गरेको उनलाई सम्झना छ । तर अहिले त्यही सिजनमा उनी फुर्सदिला छन् ।
यसपालि मुस्किलले केही थान मादल मात्रै मर्मतका लागि आएका छन् । पहिले मादलको काम मनग्यै हुने गरेको सुनाउँदै उनले अचेल आफ्नो मेहनत नउठ्ने भएपछि नयाँ मादल बनाउनै छाडेको बताए । पुराना मादल मर्मत गरेर बसिबियाँलो गर्ने गरेको उनको भनाइ छ ।
उनका अनुसार पहिले तिहारको सिजनमा मादल बनाउने र मर्मत गर्ने कामबाट डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो । कुनै वर्ष दुईदेखि तीन लाख रुपैयाँसम्म कमाइ भएको अनुभव पनि उनीसँग छ । पोहोरसम्म ७० देखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने गरे पनि यस वर्ष त्यो अवस्था छैन । अहिले मादलको कामबाट हुने आम्दानी २५ देखि ३० हजार रुपैयाँमा सीमित भएको उनी बताउँछन् ।
नीरकाजीका अनुसार पुरानो मादलमा खरी मात्रै लगाउँदा दुई हजार रुपैयाँ, दुवैतर्फको ताल फेर्दा चार हजार र एकातर्फ मात्रै फेर्दा तीन हजार रुपैयाँ लाग्छ । ठूलाछापमा मादल बनाउने चार–पाँच घर भए पनि सबैको अवस्था उस्तै छ । नयाँ मादल बनाउनेभन्दा पुराना मादल मर्मत गर्ने काम बढी छ ।
मादल बनाउने काम घट्नुमा बजारमा माग कम हुनु मात्रै कारण होइन । मादल बनाउन आवश्यक काठ र छाला जुटाउन पनि कठिन हुँदै गएको कालीगढहरू बताउँछन् । सामुदायिक वनमा काठ काट्न नपाइने र छाला सहजै उपलब्ध नहुने भएपछि नयाँ मादल बनाउन समस्या भएको हो ।
मादल बनाउन गाईगोरु, राँगा र बाख्राको छाला आवश्यक पर्छ । पहिले गाउँमै गाईगोरु पाइने भएकाले छालाको व्यवस्था गर्न सजिलो थियो । अहिले गाउँमा गाईगोरुको संख्या घट्दै गएको र छाला पाउन मुस्किल हुन थालेको कालीगढहरूको भनाइ छ । त्यसैले राँगा र बाख्राको छाला मिलाएर काम चलाउनुपर्ने अवस्था आएको छ ।
सामग्री जुटाउनै कठिन भएपछि मेहनतअनुसार आम्दानी नहुने समस्या पनि थपिएको छ । नयाँ मादल बनाउन लगानी गर्दा बिक्री हुने सुनिश्चितता छैन । त्यसैले कालीगढहरू नयाँ उत्पादनमा लगानी गर्न हिचकिचाउन थालेका छन् । नीरकाजी पनि पुराना मादल मर्मत गरेरै पेसा धान्ने प्रयासमा छन् ।
मादल बनाउने पेसामा आएको संकट नीरकाजीको मात्रै अनुभव होइन । ८० वर्षीय कालीबहादुर विशङ्खेको अनुभव पनि उस्तै छ । उनले १२ वर्षको उमेरदेखि मादल बनाउन थालेका हुन् । बाल्यकालमै सिकेको सीपलाई जीवनको लामो समयसम्म निरन्तरता दिएका उनले कुनै समय तिहारको सिजनमा २० देखि २२ वटासम्म नयाँ मादल बनाउने गरेको सम्झन्छन् ।
त्यतिबेला बजारमा मादल बिक्री नभए अर्को हप्ता लगेर बेच्ने गरिन्थ्यो । मादल मर्मत गर्न आउने ग्राहक पनि उत्तिकै हुन्थे । अहिले भने नयाँ मादल बनाउने काम लगभग बन्द भएको छ । उनले बनाएका केही मादल बिक्री हुने आशामा घरमै राखेका छन् ।
पुर्खाबाट सिकेको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु पनि यो पेसा संकटमा पर्नुको अर्को कारण हो । बुबा र बाजेले मादल बनाएको देखेरै सीप सिकेका धनबहादुर बैराङ्गी सार्कीका सन्तानले भने यो पेसालाई निरन्तरता दिएका छैनन् ।
पहिले परिवारमै सीप सिक्ने र पुस्तान्तरण हुने गरे पनि अहिले नयाँ पुस्ता गाउँमा बस्न नचाहने र बाहिर जाने क्रम बढेको धनबहादुरको अनुभव छ । पढाइलेखाइ धेरै नभएकाले पुर्खाको पेसालाई नै आफ्नो काम बनाएको उनको भनाइ छ । खेतीपातीसँगै मादल बनाउने काम गरेर जीवन चलाउँदै आएका उनी अहिले काम नपाउँदा समस्यामा छन् ।
पहिले दैनिक आम्दानी हुने गरेकोमा अहिले महिनामा दुई–तीन दिन मात्रै काम पाइने अवस्था रहेको उनी बताउँछन् । काम पाएको दिन पाँच सयदेखि एक हजार रुपैयाँसम्म कमाइ भए पनि नियमित काम नहुँदा त्यसले जीविका चलाउन पुग्दैन ।
तिहारको सिजनमा मादल मर्मत गरेर पाँचदेखि सात हजार रुपैयाँसम्म मात्रै आम्दानी हुने गरेको धनबहादुर बताउँछन् । त्यो पनि ग्राहक आए मात्रै सम्भव हुन्छ । मादल मर्मतको काम नियमित नहुँदा आम्दानीको भरपर्दो स्रोतसमेत खस्किँदै गएको छ ।
मादलको प्रयोग घट्नुमा आधुनिक प्रविधिको विस्तारलाई पनि कालीगढहरूले प्रमुख कारण मानेका छन् । पहिले चाडपर्व, उत्सव र रमाइलोका अवसरमा गाउँघरमा मादल बजाउने चलन थियो । मादलको तालमा गीत गाउने र नाचगान गर्ने गरिन्थ्यो । अहिले भने डेक र मोबाइलबाट गीत बजाउने प्रवृत्ति बढेको छ । यसले मादल बजाउने मानिस र नयाँ मादल किन्ने ग्राहक दुवै घटाएको उनीहरूको अनुभव छ ।
ठूलाछापकै लगने सार्कीले पनि मादल बनाउने पेसामा आएको परिवर्तन नजिकबाट देखेका छन् । कुनै समय उनको घरमा मात्रै होइन, वरपरका १२–१४ जना मानिससमेत मादल बनाउने काममा संलग्न हुन्थे । तिहारमा दुई हप्तासम्म कामको चाप हुन्थ्यो । मादल बनाउन आउने ग्राहकको भीडले कामदारलाई समेत फुर्सद मिल्दैनथ्यो ।

























