
विराटनगर । मलद्वारमा लुकाएर ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित मोरङको रंगेलीबाट एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–८ शुक्रबारेका २६ वर्षीय खिमबहादुर कटुवाल रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले शुक्रबार साँझ करिब ६ बजेतिर रंगेली नगरपालिका–४ चोप्राहबाट उनलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट पैदल नै नेपालतर्फ आउँदै गरेका कटुवाललाई शंका लागेर प्रहरीले चेकजाजाँच गर्ने क्रममा मलद्वारमा च्यापेर लुकाएको कालो प्लास्टिकको पोका फेला पारेको थियो । उक्त पोका खोलेर हेर्दा ४ ग्राम २३० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद लागुऔषधसहित कटुवाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















