फाइल फोटो ।झापा । झापाको मेचीनगरस्थित चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा फेला पारेको छ । मेचीनगर नगरपालिका–५ सिर्जना चोकस्थित चिया बगानबाट प्रहरीले ५५७ किलो गाँजा बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शुक्रबार चिया बगानमा खोजतलास गर्दा १३ वटा पोकामा प्याक गरेर लुकाइएको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र अस्थायी प्रहरी पोस्ट इँटाभट्टाबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको गाँजा प्लास्टिकसहित तौल गर्दा ५६२ किलो ८०० ग्राम पुगेको थियो । प्लास्टिक हटाएर तौल गर्दा ५५७ किलो शुद्ध गाँजा रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार गाँजा कसैले दाबी नगरेको अवस्थामा फेला परेको हो । चिया बगानमा यति ठूलो परिमाणमा गाँजा कसले र कहाँबाट ल्याएर लुकाएको हो भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

























