
काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार शनिबार (आज) देखि सुरु भएको छ। यमपञ्चकको पहिलो दिन आज घरघरमा कागको पूजा आराधना गरी मीठा खानेकुरा खान दिएर काग तिहार मनाइँदै छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि सुरु हुने यमपञ्चकको पहिलो दिन काग तिहार मनाउने परम्परा छ। सूर्योदय कालमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत रूपमा आज काग तिहार मनाउन लागिएको हो। यस दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा सम्मानपूर्वक पूजा गर्ने र खानेकुरा दिने धार्मिक तथा सांस्कृतिक मान्यता छ।
वैदिक सनातन हिन्दु धर्मअनुसार कागलाई यमराजको दूत मानिन्छ। कागले पृथ्वीमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण यमराजसम्म पुर्याउने धार्मिक विश्वास रहेको छ। आकाश मार्गबाट छिटो सन्देश ओसारपसार गर्ने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति छ।
कागलाई दही भातलगायत मीठा खानेकुरा दिएर पूजा गर्ने चलन छ। कागलाई नखुवाई आफूले भोजन गरे पाप लाग्ने धार्मिक मान्यता रहेकाले बिहानै घरबाहिर वा छतमा खानेकुरा राखेर कागलाई बोलाउने गरिन्छ। काग कराउनुलाई शुभ–अशुभ सन्देश वा पाहुना आगमनको सङ्केतका रूपमा लिने लोकविश्वास पनि नेपाली समाजमा अझै प्रचलित छ।
कागको पूजा गर्दा यमराजसँग मृत्यु तथा संकटबाट रक्षा होस् भनी प्रार्थना गर्ने धार्मिक परम्परा छ। यस अवसरमा कागलाई अर्पण गरिने मन्त्रमा पनि यमसंकटबाट रक्षा गर्न आग्रह गरिएको छ।
काग तिहार धार्मिक आस्थासँगै प्रकृति र जीवजन्तुप्रतिको सम्मान तथा सहअस्तित्वको सन्देश दिने पर्वसमेत हो। मानिस र चराचुरुङ्गीबीचको सम्बन्धलाई स्मरण गराउँदै प्रकृतिमा रहेका सबै जीवको महत्त्व स्वीकार गर्न यस पर्वले प्रेरित गर्छ।
पाँच दिनसम्म मनाइने यमपञ्चकमा काग तिहारपछि कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा तथा भाइटीका मनाइन्छ। यस अवधिमा बलि राजाको पूजा गर्ने परम्परा पनि छ। धार्मिक विश्वासअनुसार भगवान् विष्णुले राजा बलिको दानशीलताबाट प्रसन्न भई उनलाई वर्षमा पाँच दिन पृथ्वीको शासन गर्ने वरदान दिएका थिए।
काग तिहारका अवसरमा काठमाडौंस्थित कागेश्वरी मनोहरा महादेव मन्दिर तथा हनुमानढोका क्षेत्रको कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना गर्ने परम्परा छ।

























