
काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि अनसनरत डा. गोविन्द केसीले आफ्नो २५ औँ सत्याग्रह शनिबार राति अन्त्य गरेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिवि शिक्षण अस्पताल पुगेर सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतासहित डा. केसीको अनसन तोडाएका हुन्।
सरकार र डा. केसीबीच पटक पटक भएको छलफलपछि सहमति जुटेको हो । अनसन अन्त्य गराउन अस्पताल पुगेका मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन हुने विश्वास व्यक्त गरे। उनले सहमतिमा उल्लेख भएका विषय कार्यान्वयनको प्रक्रिया अघि बढाइने बताए।
सरकार र डा. केसीबीच भएको ६ बुँदे सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।
सहमति जुटेसँगै लामो समयदेखि चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनसनरत डा. केसीको सत्याग्रह टुंगिएको छ।



























