पटका पड्काउँदा ज्यानकै जोखिम : एकछिनको रमाइलो, जीवनभरको पीडा

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १६:४४

विराटनगर । तिहारमा उज्यालो र उत्साह थप्ने नाममा पड्काइने पटका कसैका लागि क्षणिक मनोरञ्जन बन्न सक्ला । तर, यसले कसैको जीवनमा ठूलो विपत्ति निम्त्याउन सक्छ । केही सेकेन्डको रमाइलोका लागि प्रयोग गरिने पटका स्वास्थ्य, वातावरण र मानवीय सुरक्षाका दृष्टिले गम्भीर मानिन्छ ।

तिहार लागेसँगै पटका पड्काउने क्रम बढ्ने गरेको छ । विशेषगरी बालबालिकालाई खुसी पार्न अभिभावकले नै पटका किनिदिने र पड्काउन दिने प्रवृत्ति छ । तर, पटका पड्काउँदा हुने सम्भावित दुर्घटना र त्यसले स्वास्थ्यमा पार्ने असरका बारेमा पर्याप्त सचेतना देखिँदैन ।

पटका पड्किँदा निस्कने धुवाँ र रासायनिक पदार्थले वायु प्रदूषण बढाउनुका साथै श्वासप्रश्वास प्रणालीमा असर पुर्‍याउँछन् । ठूलो आवाजले ध्वनि प्रदूषण निम्त्याउँछ । आगलागी हुने, शरीरका अंगमा गम्भीर चोट लाग्ने र ज्यानै जानेसम्मका घटना हुनसक्छन् ।

विज्ञहरूका अनुसार पटकामा लिड, सल्फरडाइअक्साइड, नाइट्रस अक्साइडलगायत मानव स्वास्थ्यका लागि हानिकारक रसायन तथा धातु प्रयोग गरिन्छ । पटका पड्किएपछि निस्कने धुवाँ हावामा मिसिएर श्वासप्रश्वासका माध्यमबाट शरीरभित्र प्रवेश गर्छ । यसले फोक्सोमा असर गर्नुका साथै दम, एलर्जी र अन्य श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल पटका मनोरञ्जनभन्दा बढी जोखिमको माध्यम बनिरहेको बताउँछन् । उनका अनुसार पटका पड्काउँदा मानवीय क्षतिदेखि आगलागीसम्मका घटना हुनसक्छन् ।

‘मान्छेको स्वास्थ्यमा असर पुग्नेदेखि अनेक समस्या हुन्छन् । अंगभंग हुने र ज्यानै जाने हुनसक्छ । प्रदूषणदेखि आगलागी भएर जनधनको ठूलो क्षति हुने हुँदा पटका पड्काउन हुँदैन,’ उनले भने ।

नेपालमा पटका प्रतिबन्धित भए पनि भारतबाट लुकाइछिपाइ भित्राउने र प्रयोग गर्ने क्रम रोकिएको छैन । प्रहरीले नाकामा निगरानी बढाएर विभिन्न स्थानबाट पटका नियन्त्रणमा लिइरहेको एसपी कटवालले बताए । प्रतिबन्धित वस्तु भित्रिन नदिन सुरक्षा निगरानी बढाइएको उनको भनाइ छ ।

‘नेपाल भित्रिनै दिएन भने क्षति हुन पाउँदैन भनेर नियन्त्रणका लागि नाकामा कडाइ गरिएको थियो । विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा पनि लियो । लुकाइछिपाइ भित्राएर पड्काउने गरिन्छ । यसले कस्ता समस्या सिर्जना गर्छ र किन पड्काउन हुँदैन भनेर सबैले बुझ्न जरुरी छ,’ एसपी कटवालले भने ।

उनका अनुसार बालबालिकालाई खुसी पार्ने नाममा पटका दिनु झन् जोखिमपूर्ण छ । क्षणिक मनोरञ्जनका लागि गरिने खर्चले दुर्घटना निम्त्याउन सक्ने भएकाले अभिभावकले पनि सचेत हुनुपर्ने उनले बताए ।

जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा पटका प्रयोग नियन्त्रणसँगै जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउँछन् । उनका अनुसार पटकाबाट निस्कने धुवाँले आँखा र श्वासप्रश्वास प्रणालीमा असर गर्छ भने ठूलो आवाजले सुन्ने क्षमतामा ह्रास ल्याउन सक्छ ।

‘स्वास्थ्यका दृष्टिकोणबाट ध्वनि र वायु प्रदूषणले समस्या गर्छ । धुवाँले आँखामा असर गर्छ । ध्वनि प्रदूषणले सुन्न सक्ने शक्तिमा ह्रास आउँछ,’ डा. सुब्बाले भने ।

पटका पड्किँदा निस्कने चर्को आवाजले बिरामी, गर्भवती, बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी असर गर्ने उनको भनाइ छ । पटकामा प्रयोग हुने कतिपय धातु तथा रासायनिक पदार्थ शरीरमा प्रवेश गर्दा रगत र केन्द्रीय स्नायु प्रणालीमा समेत असर पर्न सक्ने उनले बताए ।

उनका अनुसार पटकाको धुवाँले फोक्सोमा संक्रमण तथा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ । केही रासायनिक पदार्थले हर्मोन प्रणाली र बालबालिकाको शारीरिक विकासमा समेत प्रतिकूल असर पुर्‍याउन सक्छन् ।

‘शरीरको हर्मोनलाई नै असन्तुलित बनाउँछ । अरू धेरै समस्या हुन्छन् । मानव स्वास्थ्यलाई असर गर्ने पटका किन पड्काउनु ?,’ उनले प्रश्न गरे ।

पटकामा यस्तो छ सजाय

पटका प्रतिबन्धित विस्फोटक पदार्थ भएकाले यसको उत्पादन, ओसारपसार, कारोबार, बिक्री वितरण तथा प्रयोगलाई कानुनले निषेध गरेको छ । कानुनी कारबाहीको व्यवस्थासमेत छ । विस्फोटक पदार्थको प्रकृतिअनुसार कैद र जरिबाना हुने कानुनी प्रावधान रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

कडा विस्फोटक पदार्थ प्रयोग वा बरामद भएको अवस्थामा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनसक्छ । नरम विस्फोटक पदार्थमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना तथा सामान्य प्रकृतिको विस्फोटक पदार्थमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

त्यस्तै, विस्फोटक पदार्थ उत्पादन, ओसारपसार तथा कारोबार गर्नेलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ । पटका पड्काउँदा कसैलाई चोटपटक लागेमा वा भौतिक क्षति भएमा पीडितले कानुनी उपचार खोज्न सक्छन् । दोषी ठहर भएमा क्षतिपूर्तिसमेत तिर्नुपर्ने हुनसक्छ ।

प्रतिबन्ध उल्लंघन गर्नेलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा समेत कारबाही अघि बढाउन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । तिहारलाई उल्लासमय बनाउने नाममा जोखिम मोल्नु उचित हुँदैन । दीपावलीको उज्यालोले घर र मन उज्यालो बनाओस्, पटका पड्काएर कसैको जीवनमा अन्धकार नछाओस् भन्नेमा सबै सचेत हुन आवश्यक रहेको एसपी कटवालले बताए । ‘पटका पड्काउँदा ज्यानकै जोखिम हुन्छ । एकछिनको रमाइलोले जीवनभर पीडा दिन्छ,’ उनी भन्छन् ।

साढे १ करोडभन्दा बढीको पटका बरामद

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.