
काठमाडौं । बाढीले घरबारविहीन बनाएका रसुवाको टिमुरेका बासिन्दा सरकारी पुनःस्थापनाको प्रतीक्षा छाडेर आफ्नै गाउँ फर्कने तयारीमा जुटेका छन् । दुई महिनादेखि काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रय लिइरहेका उनीहरू शनिबारदेखि गुम्बा छाड्न थालेका हुन् ।
गुम्बा व्यवस्थापनले लामो समयसम्म आश्रय दिन नसकिने जनाएपछि पीडितहरू आफन्तकोमा बस्न र तिहारपछि गाउँ फर्कने योजनामा छन् । सरकारले अस्थायी आवासको व्यवस्था गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।
टिमुरेका पेमा दोर्जे घलेले गृहमन्त्री सुधन गुरुङले काठमाडौंमै अस्थायी बसोबासको व्यवस्था गर्ने आश्वासन दिए पनि कुनै प्रगति नभएको बताए । सरकारले दिएको १५ हजार रुपैयाँले कोठाभाडा तिर्ने कि खाद्यान्न किन्ने भन्ने समस्या रहेको उनको भनाइ छ ।
अर्का पीडित कामी नुर्बु तामाङले गाउँ फर्किएर खेतीपाती र पशुपालन गर्ने योजना सुनाए । सरकारले आफूहरूलाई राहतमा मात्र निर्भर नराखी श्रम र उत्पादनसँग जोड्नुपर्ने उनको माग छ ।
उनका अनुसार बाढी प्रभावितमध्ये ९० प्रतिशत काठमाडौंमा बस्न सक्ने अवस्थामा छैनन् । गाउँ फर्किएपछि पनि सडक, रोजगारी र बासस्थानको समस्या रहने भएकाले भविष्य थप कष्टकर हुने उनीहरूको चिन्ता छ ।
मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिलासहित ४११ जना आश्रित थिए । तीमध्ये १७१ बालबालिका र ८० जना वृद्धवृद्धा थिए । पीडितहरूले पुनःस्थापना र जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

























