
जनकपुरधाम । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको बहुप्रतीक्षित पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । पुलको ढलान सम्पन्न भइसकेको छ भने दुवैतर्फ जोड्न माटो भर्ने काम भइरहेको छ ।
वर्षौंदेखि पुल सञ्चालनको प्रतीक्षामा रहेका दुवै जिल्लाका स्थानीयवासी निर्माणकार्यले अन्तिम रूप लिन थालेपछि उत्साहित भएका छन् । माटो भर्ने काम सकिएपछि मंसिर पहिलो सातादेखि पुल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले बताए ।
यसैबीच, हुलाकी राजमार्गअन्तर्गत जनकपुरधामको कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाइएको छ । सडक सीमाभित्र रहेका घर, टहरा र घुम्ती पसललगायत संरचना हटाएर सडक खाली गराइएको प्रमुख महतोले जानकारी दिए । पटक–पटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले संरचना नहटाएपछि डोजर प्रयोग गरेर हटाउनुपरेको उनको भनाइ छ ।
विसं २०६८ मा कमला पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो । विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलर भाँचिएपछि निर्माण सम्पन्न हुन सकेको थिएन । पुल जीर्ण भएपछि स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको थियो ।
पुनर्निर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि निर्माणले गति लिएको प्रमुख महतोले बताए । पुलका दुवैतर्फ जोड्ने सडकमा माटो भर्ने काम सम्पन्न गरी मंसिरदेखि सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।
कमला नदीमा सहज आवागमनका लागि पुल नहुँदा सिरहा र धनुषाका बासिन्दाले लामो समयदेखि सास्ती भोग्दै आएका थिए । विशेषगरी वर्षायाममा नदीको बहाव बढ्दा डुङ्गाबाट वारपार गर्नुपर्ने र कतिपय अवस्थामा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता थियो ।
पुल सञ्चालनमा आएपछि सिरहा र धनुषाबीचको यातायात सम्पर्क सहज हुने धनुषाको कमला नगरपालिकाका स्थानीय सुमनकुमार यादवले बताए । दैनिक कामकाज, शिक्षा, स्वास्थ्य सेवा, व्यापार तथा अन्य सामाजिक गतिविधिका लागि दुई जिल्लाबीच आवतजावत गर्ने सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कृषि उपज तथा स्थानीय उत्पादनको ढुवानी सहज हुनुका साथै व्यापारिक गतिविधि बढाउन पनि पुलले सहयोग पुर्याउने स्थानीयको अपेक्षा छ ।

























