
विराटनगर । विदेशको रोजगारी र सहरको व्यवसायबाट खोजेजस्तो सन्तुष्टि नमिलेपछि मोरङको केराबारीका गणेशबहादुर थापाले पुर्ख्यौली माटोलाई नै आफ्नो भविष्य बनाए । अहिले त्यही माटोमा उनले ड्रागन फ्रुट, गाई पालन, लोकल कुखुरा र जैविक मल उत्पादनलाई जोडेर सफल कृषि उद्यम सञ्चालन गरिरहेका छन् ।
केराबारी गाउँपालिका–९ घङ्गरुका थापा २०७९ सालमा गाउँ फर्किएर व्यावसायिक कृषि कर्ममा लागेका हुन् । सुरुमा १ सय पिलरबाट ड्रागन फ्रुट खेतीको परीक्षण गरेका उनले राम्रो उत्पादन भएपछि विस्तार गर्दै लगे । अहिले करिब ३ बिघा जमिनमा ८ सय पिलर र ३ हजार २ सयभन्दा बढी बिरुवा छन् । उनको बगानबाट सिजनमा ८ सयदेखि १ हजार २ सय किलोसम्म ड्रागन फ्रुट उत्पादन हुन्छ ।
थापाले ड्रागन फ्रुट खेतीसँगै गाई पालन र लोकल कुखुरा पालनलाई पनि अघि बढाएका छन् । दुईवटा गाईबाट सुरु भएको उनको गोठमा अहिले उन्नत तथा स्थानीय जातका गरी १० गाई छन् । गाईको गोबरलाई सदुपयोग गर्दै उनले गँड्यौला मल उत्पादनसमेत गरिरहेका छन् ।

‘ओएसिस स्मार्ट एग्रो फार्म’मार्फत ‘ओसिस गँड्यौली मल’ ब्रान्डमा उत्पादन भइरहेको जैविक मल प्रतिकिलो २५ रुपैयाँमा बिक्री हुँदै आएको छ । यसरी एउटै फार्मबाट कृषि, पशुपालन र जैविक मल उत्पादनलाई जोडेर उनले एकीकृत कृषि प्रणाली अपनाएका छन् ।
थापा दम्पतीले सबै खर्च कटाएर कृषि व्यवसायबाट मासिक करिब २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनीहरूको फार्ममा गाउँका दुई जनाले नियमित रोजगारीसमेत पाएका छन् ।
विदेश र सहरको व्यस्त जीवनभन्दा आफ्नै गाउँमा कृषि कर्म गर्दा बढी आत्मसन्तुष्टि मिलेको थापाको अनुभव छ । अब थप दुई बिघा जमिनमा ड्रागन फ्रुट खेती विस्तार गर्ने र गाईको संख्या बढाउने उनको योजना छ ।
‘घाम, पानी, जाडो र गर्मी नभनी निरन्तर मिहिनेत गर्नुपर्छ,’ थापा भन्छन्, ‘परिवारसँगै बसेर आफ्नै माटोमा काम गर्दा आम्दानी पनि भएको छ, मनले खोजेको सन्तुष्टि पनि मिलेको छ ।’



















