
काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व तह फेरबदलसँगै उच्च पदस्थ अधिकृतहरूको बढुवा र अवकाशको क्रमले नयाँ समीकरण बन्ने भएको छ ।
महानिरीक्षक (आईजीपी) परिवर्तन भएसँगै एक एआईजी पद रिक्त भएको छ भने आगामी मंसिर र पुसमा थप दुई डीआईजीसहित उच्च तहका दर्जन अधिकृतको पद रिक्त हुँदैछ । दानबहादुर कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेपछि उनी नेतृत्वमा रहेको प्रहरी संगठनमा नयाँ आईजीपीका रूपमा डा. मनोज केसी आएका छन् ।
केसी प्रहरीको ३४ औँ महानिरीक्षक नियुक्त भएसँगै उनले सम्हाल्दै आएको अपराध अनुसन्धान विभाग एआईजीविहीन बनेको छ । कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको हो । उनी पदबाट बाहिरिएपछि प्रहरीको अपराध अनुसन्धान विभागमा एआईजी पद रिक्त भएको छ । उक्त पदमा बढुवाका लागि अब डीआईजीहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
एआईजी बढुवाका लागि राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द्र थपलिया र दीपेन्द्र घर्ती क्षेत्री प्रमुख दाबेदारका रूपमा देखिएका छन् । त्यस्तै, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत र जयराज सापकोटा पनि एआईजी बन्न योग्य छन् । तर, वरिष्ठता र कार्यसम्पादनका आधारमा मेरिट सूचीमा अगाडि रहेका अधिकृतमध्येबाटै बढुवा हुने सम्भावना बलियो रहेको प्रहरी वृत्तमा चर्चा छ ।
प्रहरी नियमावलीअनुसार बढुवा समितिको सिफारिसमा एआईजी नियुक्त गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ । त्यसैले रिक्त पदमा कसलाई अघि सार्ने भन्ने विषयमा सरकारको निर्णय निर्णायक हुनेछ ।
एआईजी बढुवाको प्रक्रिया अघि बढ्दै गर्दा प्रहरीमा डीआईजीका दुई दरबन्दी पनि रिक्त हुने अवस्थामा पुगेका छन् । एआईजीमा बढुवा हुने एक डीआईजीको पद रिक्त हुनेछ भने विशेष ब्यूरोका प्रमुख डीआईजी विनोद घिमिरेको अवकाशपछि अर्को पद खाली हुनेछ ।
घिमिरे आगामी मंसिर २३ गते अवकाशमा जाँदैछन् । राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका उनी २०५४ माघ २८ गते सेवा प्रवेश गरेका थिए । प्रहरी प्रधान कार्यालयको अभिलेखअनुसार उनको जन्ममिति २०२७ मंसिर २४ गते रहेको छ । डीआईजी पदको ५६ बर्से उमेरहदका कारण उनी सेवाबाट बाहिरिन लागेका हुन् ।
यसैबीच, आगामी पुस ४ गते नेपाल प्रहरीका पाँच एआईजी र चार डीआईजी गरी नौ जना उच्च अधिकारी एकैपटक सेवाबाट निवृत्त हुँदैछन् । राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ५ गते सेवा प्रवेश गरी पछि प्रहरीमा आएका उनीहरू ३० बर्से सेवा अवधिका कारण अवकाशमा जान लागेका हुन् ।
अवकाशमा जाने एआईजीहरूमा सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन् । त्यस्तै डीआईजीहरू ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा र सुरेन्द्र गुरुङ पनि पुस ४ गतेबाट सेवामुक्त हुनेछन् ।
मंसिरदेखि पुससम्मको यो अवकाश र बढुवा प्रक्रियाले प्रहरीको उच्च नेतृत्व तहमा ठूलो फेरबदलको बाटो खोल्नेछ । रिक्त हुने पदमा हुने नियुक्ति र बढुवाले संगठनको आगामी कमान्ड संरचनासमेत प्रभावित पार्ने देखिन्छ ।

























