
विराटनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र स्थानीय तहको नेतृत्व गर्ने आकांक्षीभन्दा प्रमुख पदमा पुग्ने चाहना राख्नेहरूको संख्या बढी देखिएको छ ।
आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीले सञ्चालन गरेको ‘क्यान्डिडेट क्लब’मा नाम दर्ता गर्नेहरूको विवरणले वडाध्यक्ष पदप्रति अपेक्षाकृत कम आकर्षण देखाएको हो । कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये ४१ वटामा वडाध्यक्ष बन्न चाहने एकजना पनि भेटिएका छैनन् । पहाडी र हिमाली जिल्लाका पालिकामा रास्वपाबाट वडाध्यक्षको उम्मेदवार बन्न अहिलेसम्म कसैले पनि नाम दर्ता नगराएको पार्टीको आधिकारिक विवरणमा उल्लेख छ ।
रोचक पक्ष के छ भने, वडाध्यक्षका लागि आवेदन नपरेका पालिकाहरू धेरैजसो पहाडी जिल्लामा छन् भने तराईका जिल्लामा उम्मेदवार बन्न चाहनेहरूको संख्या उल्लेख्य छ । यसले प्रदेशभित्रै रास्वपाको संगठनात्मक आकर्षण र चुनावी तयारीमा भौगोलिक असमानता देखाएको छ ।
ताप्लेजुङमा फुङलिङ नगरपालिकासहित आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन, फक्ताङलुङ, सिरिजंघा र पाथीभरा याङवरक गाउँपालिकामा वडाध्यक्षका लागि कसैले नाम दर्ता गराएका छैनन् । खोटाङका हलेसी तुवाचुङ नगरपालिका र ऐसेलुखर्क, बराहपोखरी, दिप्रुङ चुइचुम्मा, जन्तेढुंगा, केपिलासगढी तथा साकेला गाउँपालिकाको अवस्था पनि उस्तै छ ।
इलामका देउमाई र इलाम नगरपालिका तथा फाकफोकथुम, माङसेबुङ, रोङ र सन्दकपुर गाउँपालिकामा पनि रास्वपाबाट वडाध्यक्ष बन्ने आकांक्षी देखिएका छैनन् । पाँचथरका फिदिम नगरपालिका र हिलिहाङ, कुम्मायक, मिक्लाजुङ, तुम्बेवा तथा याङवरक गाउँपालिकामा समेत आवेदन परेको छैन ।
संखुवासभाका चैनपुर, मादी र पाँचखपन नगरपालिका तथा चिचिला, सभापोखरी र सिलिचोङ गाउँपालिकामा पनि वडाध्यक्षका आकांक्षी छैनन् । भोजपुरका आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिका, धनकुटाका चौबिसे, छथर जोरपाटी र साँगुरीगढी गाउँपालिकामा पनि कसैले नाम दर्ता गराएका छैनन् ।
त्यस्तै, सोलुखुम्बुको महाकुलुङ, तेह्रथुमको मेन्छ्यायेम र उदयपुरको सुनकोशी गाउँपालिकामा पनि वडाध्यक्षका उम्मेदवारका लागि आवेदन परेको छैन ।
तर, प्रदेशका ९६ पालिकामा भने वडाध्यक्षको उम्मेदवार बन्न १ हजार ८२ जनाले नाम दर्ता गराएका छन् । आवेदनको संख्याले तराईका जिल्लामा रास्वपाप्रति बढी आकर्षण देखाएको छ ।
मोरङ आवेदन संख्याका आधारमा सबैभन्दा अगाडि छ । जिल्लाका १७ स्थानीय तहबाट ३२५ जनाले वडाध्यक्षको उम्मेदवार बन्न इच्छा देखाएका छन् । धनपालथान गाउँपालिकामा ३८ र कटहरी गाउँपालिकामा ३२ जनाले आवेदन दिएका छन् ।
सुनसरीका १२ पालिकाबाट २६९, झापाका १५ पालिकाबाट २३६ र उदयपुरका सात पालिकाबाट १२९ जनाले आवेदन दिएका छन् । एकल पालिकाको हिसाबले सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका सबैभन्दा अगाडि छ । त्यहाँ ४७ जनाले वडाध्यक्षका लागि नाम दर्ता गराएका छन् । उदयपुरको त्रियुगा नगरपालिकामा पनि ३९ जनाको आवेदन परेको छ ।
रास्वपाले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गरेको छ । पार्टीले यही प्रक्रियाबाट दर्ता भएका आकांक्षीमध्येबाट उम्मेदवार चयन गर्ने जनाएको छ ।
पार्टी सभापति रवि लामिछानेले समेत वडाध्यक्ष पदमा उम्मेदवार बन्नेहरूको कमी देखिएको विषयलाई सार्वजनिक रूपमा उठाएका थिए । केही दिनअघि चितवनमा उनले व्यङ्ग्यात्मक शैलीमा ‘राजीनामा दिएर वडाध्यक्षमा लड्न आउनुपर्ला जस्तो छ’ भनेका थिए ।
कोशी प्रदेशभर १ हजारभन्दा बढीले वडाध्यक्ष बन्न इच्छा देखाउँदा पनि ४१ पालिकामा एउटै आवेदन नपर्नुले रास्वपाका लागि स्थानीय तहको चुनावी तयारी र वडा तहको नेतृत्व विकास चुनौतीपूर्ण रहेको संकेत गरेको छ ।

























