झापामा हात्तीको त्रास : १६ वर्षमा ८० को मृत्यु, बस्तीमा पस्यो ठूलो समूह

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १२:२२
फाइल फाेटाे

झापा । झापामा जंगली हात्तीको आतंक रोकिएको छैन । हात्तीको आक्रमणबाट मानवीय क्षति हुने क्रम बढिरहेका बेला भारतबाट ठूलो संख्यामा हात्ती नेपाल प्रवेश गरेपछि सीमावर्ती क्षेत्रका बस्ती थप जोखिममा परेका छन् । पछिल्लो १६ वर्षमा झापामा हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाइसकेका छन् ।

मेचीनगरको सतिघट्टा नाकाबाट जंगली हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि बाहुनडाँगी, प्रसाद गौँडा, काँकरभिट्टालगायत क्षेत्रमा त्रास फैलिएको छ । स्थानीयका अनुसार केही दिनयता १२ वटाभन्दा बढी हात्तीको समूह सीमावर्ती बस्ती आसपास देखिएको छ ।

हात्तीको जोखिम बढिरहेका बेला शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिका–२ बिहानी टोलमा एक मोटरसाइकल चालक हात्तीको आक्रमणमा परेका छन् । तीनतले सामुदायिक वनबाट निस्किएको हात्तीले मोटरसाइकलमा आक्रमण गर्दा स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका हुन् ।

बिहानी टोलबाट बुधबारेतर्फ जाँदै गरेका पौडेलले चलाएको मे ३ प ६८६७ नम्बरको मोटरसाइकलमाथि हात्तीले आक्रमण गरेको थियो । छातीमा चोट लागेका उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको छ ।

मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा नाकाबाट हात्ती नेपाल प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । हात्तीको समूह बस्ती नजिकै देखिन थालेपछि स्थानीयमा त्रास बढेको वडाध्यक्ष पहलाद ओलीले जानकारी दिए । हात्तीले घरगोठ र बालीनालीमा क्षति पुर्‍याउन सक्ने जोखिमसँगै रातिको समयमा आवतजावत गर्नसमेत कठिन भएको उनको भनाइ छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीका अनुसार हात्तीलाई भारततर्फ नै फर्काउने प्रयास भइरहेको छ । त्यसका लागि भारतीय प्रहरीसमेत परिचालन भएको र दुवै देशका सुरक्षा निकाय तथा सम्बन्धित पक्षबीच समन्वय भइरहेको उनले बताए ।

डिभिजन वन कार्यालय झापाको तथ्यांकले जिल्लामा मानव–हात्ती द्वन्द्वको भयावह अवस्था देखाउँछ । झापामा विसं २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म हात्तीको आक्रमणबाट ८० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ७० नेपाली र १० गैरनेपाली नागरिक छन् । यही अवधिमा मानव–हात्ती द्वन्द्वकै कारण २८ वटा जंगली हात्तीले समेत ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०८२–८३ मा मात्रै हात्तीको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो भने १७ जना गम्भीर घाइते भएका थिए । मेचीनगर–९ की पेना किसान, दमक–३ का गणेशप्रसाद अधिकारी, मेचीनगर–१३ का खम्बासिंह कार्की, भद्रपुर–९ का रामबहादुर बुर्जा र कनकाईका कृष्णबहादुर भुजेललगायतले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्ला घटनामा मेचीनगर–४ की पद्मा पौडेल र बरहदशी गाउँपालिका–२ की लुजुमा खातुनको समेत मृत्यु भएको वन कार्यालयले जनाएको छ ।

हात्तीबाट हुने क्षति मानवीय मृत्युमै सीमित छैन । घरगोठ भत्काउने, पशु मार्ने, भण्डारण गरिएको अन्न नष्ट गर्ने र खेतीपातीमा क्षति पुर्‍याउने क्रम पनि जारी छ । आर्थिक वर्ष २०८२–८३ मा मात्रै हात्तीबाट पीडित नागरिकलाई राहत तथा क्षतिपूर्तिबापत करिब दुई करोड रुपैयाँ वितरण गरिएको कार्यालयले जनाएको छ । उक्त अवधिमा १५ वटा पशुधन, अन्न भण्डारण गरिएका १९१ स्थान र २६८ घरगोठमा क्षति पुगेको थियो ।

वन क्षेत्र अतिक्रमण, हात्तीको परम्परागत जैविक मार्ग अवरुद्ध हुनु, बस्ती विस्तार तथा वन क्षेत्रमा आहारा र पानीको अभावलाई मानव–हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण मानिएको छ । हात्तीको आवागमन हुने क्षेत्रमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन नसक्दा पनि मानवीय जोखिम बढ्ने गरेको छ ।

सरोकारवालाहरु वर्षौंदेखि दोहोरिइरहेको यो समस्याको समाधान राहत र क्षतिपूर्ति वितरणमा मात्र सीमित हुन नसक्ने बताउँछन् । हात्तीको आवागमन हुने मार्ग पहिचान र संरक्षण, जोखिमयुक्त क्षेत्रमा निगरानी, पूर्वसूचना प्रणालीको विकास तथा स्थानीय समुदाय र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिएको सरोकारवाला बताउँछन् । वन्यजन्तुको संरक्षण र मानव बस्तीको सुरक्षाबीच सन्तुलन कायम गर्न नसक्दा झापामा मानव–हात्ती द्वन्द्व गम्भीर चुनौतीका रूपमा कायम रहेको उनीहरुको भनाइ छ ।

झापामा हात्तीको त्रास : बुद्धशान्तिमा एक घाइते, मेचीनगरमा बथानले गाउँ जोखिममा

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.