
धनुषा । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।
बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
मन्त्री साहका अनुसार मन्त्रिपरिषद्ले मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेदेखि सञ्चालन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ । बैठक सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सिफारिस गरिएसँगै प्रदेशसभा बैठक पुनः बस्ने बाटो खुलेको छ ।



















