मौसमी फेरबदलः वर्षा र हिमपातको सम्भावना, तीन प्रदेशमा सतर्कता

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १२:०७

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा देशका केही हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि पश्चिमी तथा उच्च हिमाली क्षेत्रमा मौसम थप सक्रिय हुने देखिएको छ ।

शनिबार मौसमसम्बन्धी जानकारी दिँदै मौसमविद् निष्ठा निरौलाले विगत २४ घण्टामा देशका कुनै पनि स्थानमा वर्षा रेकर्ड नभएको बताइन् । उनका अनुसार हाल हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराईका भूभागमा भोलि बिहान हुस्सु लाग्न सक्ने विभागको पूर्वानुमान छ ।

भोलिदेखि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा मध्यम वर्षा वा हिमपात हुन सक्ने मौसमविद् निरौलाले जानकारी दिइन् । त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा, हिमपात र असिनासमेत पर्न सक्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना रहेकाले विभागले पहेँलो रङको सतर्कता जारी गरेको छ । आजका लागि भने देशभर कुनै चेतावनी जारी नगरिएको मौसमविद् निरौलाले बताइन् ।

उनले सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी पछिल्लो जानकारी लिएर अद्यावधिक रहन आग्रह गरिन् । अन्य भूभागलाई हरियो रङमा राखिए पनि मौसम परिवर्तन हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, पर्सि कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ । मौसम छिनछिनमै परिवर्तन हुन सक्ने भएकाले आधिकारिक जानकारीका लागि विभागको वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा हेर्न पनि उनले सर्वसाधारणलाई आग्रह गरिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.