तेह्रथुममा धान भित्र्याउने चटारो, जनशक्ति अभावले किसानलाई सास्ती

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार ०९:०६

तेह्रथुम । तेह्रथुमका गाउँघरमा यतिबेला धान काट्ने, सुकाउने र भित्र्याउने चटारो छ । असार-साउनमा रोपेको धान पाकेर खेत पहेँलिएको छ । वर्षभरि गरेको मेहनतको फल घर भित्र्याउने समय आएसँगै किसानलाई बाली थन्क्याउन भ्याइनभ्याइ भएको छ ।

किसानका लागि यो समय खुसीसँगै चिन्ताको पनि हो । पाकेको धान समयमै भित्र्याउन नसके वर्षा, हावाहुरीलगायत प्राकृतिक प्रकोपबाट क्षति पुग्ने डर हुन्छ । त्यसैले किसान बिहानैदेखि साँझसम्म खेतबारीमै व्यस्त देखिन्छन् । कोही कचिया लिएर धान काटिरहेका छन् भने कोही काटेको धान बोकेर खलियानसम्म पुर्‍याउन व्यस्त छन् । कतै धानका बिटा लगाइँदै छ भने कतै दाउनी गरेर धान र पराल छुट्याउने काम भइरहेको छ ।

म्याङलुङ नगरपालिका–५ का किसान खेम लिम्बूका अनुसार पछिल्लो समय गाउँमा कृषि काम गर्ने मानिस पाउन कठिन हुँदै गएको छ । पहिले गाउँका युवा, महिला र पुरुष मिलेर सामूहिक रूपमा खेतीपाती गर्ने चलन थियो । अहिले रोजगारीका लागि युवा पुस्ता विदेशिने र सहर पस्ने क्रम बढेपछि गाउँमा खेतबारीको काम गर्ने उमेर ढल्केका मानिस बढी छन् । ज्याला दिएर कामदार खोज्दा पनि सहजै नपाइने अवस्था रहेको उनले बताए ।

धान काट्ने मौसममा गाउँघरमा अर्मपर्मको परम्परा भने अझै कायम छ । एकअर्काको खेतमा पालैपालो काम सघाउने चलनले किसानलाई केही राहत दिएको छ । तर परिवारका सदस्य नै कम हुँदै गएपछि पुरानो श्रम संस्कृतिले पनि सबै समस्या समाधान गर्न सकेको छैन । पहिले छिमेकी र आफन्त मिलेर एकै दिनमा धेरै खेतको धान काट्ने गरिन्थ्यो । अहिले थोरै जनशक्तिका भरमा धेरै काम सक्नुपर्ने बाध्यता छ ।

म्याङलुङ नगरपालिका–६ की किसान विरुदा बुढाथोकीलाई पनि बिहानदेखि बेलुकासम्म खेतमै बिताउनुपरेको छ । पाकेको धान खेतमै राखिरहँदा मौसम बिग्रिने डर हुने भएकाले उनी थकान र उमेरको पर्वाह नगरी बाली भित्र्याउन जुटेकी छन् । ‘बिहानै खेत पुगिन्छ, बेलुका घर फर्किँदा शरीर थाकेर चुक्छ, तर बाली बचाउनुपर्छ भन्ने हुटहुटीले सास फेर्नसमेत फुर्सद हुँदैन,’ उनी भन्छिन् ।

धान काट्ने मौसमसँगै गाउँघरमा पहिले देखिने रमाइलो वातावरण पनि केही बदलिएको छ । कुनै समय धान काट्ने र दाउनी गर्ने क्रममा किसान सामूहिक रूपमा जुट्थे । कामसँगै लोकभाका गाउने, हाँसोठट्टा गर्ने र एकअर्कालाई सघाउने चलन थियो । धान काट्दै, बोकेर खलियानसम्म पुर्‍याउँदै र दाउनी गर्दै बित्ने दिनले गाउँमा छुट्टै रौनक ल्याउँथ्यो ।

किसान रविन्द्र लिम्बूका अनुसार अहिले पनि धान काट्ने र थन्क्याउने क्रममा पुरानो संस्कृतिको झल्को देखिन्छ । तर पहिलेको जस्तो सामूहिक सहभागिता र सहजता भने छैन । ‘धान काट्दै, बोक्दै, गीत गाउँदै खेतमा रमाउने पुरानै माहोल त छ,’ उनले भने, ‘तर हतारो, अभाव र चिन्ताले अहिलेको मेहनत अरू वर्षजस्तो सहज छैन ।’

तेह्रथुमका ग्रामीण बस्तीमा अझै पनि धेरै परिवारको जीविकोपार्जनको मुख्य आधार कृषि नै हो । धान खेती उनीहरूको खाद्यान्न सुरक्षासँग प्रत्यक्ष जोडिएको छ । तर युवा जनशक्तिको पलायन, खेतीयोग्य जमिन बाँझिने क्रम र कृषि श्रमिकको बढ्दो अभावले परम्परागत खेतीपाती प्रभावित हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.