उच्च मूल्यका वस्तुको निर्यात २३.८५ प्रतिशतले बढ्यो

Share this
810shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार ०९:११

काठमाडौं । नेपालबाट उच्च मूल्य अभिवृद्धि हुने र तुलनात्मक लाभ बढी भएका वस्तुको निर्यात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३.८५ प्रतिशतले बढेको छ ।

नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०२३ मा समेटिएका वस्तुको निर्यात साउनदेखि असोजसम्म ३६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात २९ अर्ब ५९ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा ठूलो अलैंची, फलाम तथा स्टिलजन्य वस्तु, जुट तथा जुटका सामग्री, तयारी पोसाक, पस्मिना, गलैंचा, जुत्ता, चिया, कफी, अदुवा, हस्तनिर्मित नेपाली कागजलगायत वस्तुको निर्यात बढेको छ । डग च्यु, रेजिन, ऊनको रेसा (फेल्ट) का सामग्री, धागो, तरकारी, मसला, पास्ता, मह तथा सुनचाँदीका गरगहनाको निर्यातमा पनि वृद्धि देखिएको छ ।

यस अवधिमा नेपालको समग्र निर्यात भने ५७.०३ प्रतिशतले बढेर एक खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

समग्र निर्यातमा देखिएको उच्च वृद्धिमा सोयाबिन, भटमास र सूर्यमुखी तेललगायत खाद्यतेलको पुनः निर्यातको मुख्य योगदान रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट ५८ अर्ब ४२ करोड रुपैयाँ बराबरको खाद्यतेल निर्यात भएको छ ।

व्यापार विज्ञ रविशंकर सैंजुका अनुसार विश्व बजारमा वस्तुको मूल्य बढ्नु र अमेरिकी डलर बलियो हुनुले पनि निर्यातको मूल्य बढाउन योगदान गरेको हुन सक्छ । पछिल्ला महिनामा उत्पादकले भारतबाहेकका बजारमा समेत व्यापार विस्तार गर्न खोजेको हुन सक्ने उनको भनाइ छ ।

नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशोधन र प्याकेजिङ गरी विभिन्न बजारमा पुर्‍याउन सके निर्यात थप बढाउन सकिने सैंजुले बताएका छन् । उनका अनुसार बजार र उत्पादन दुवैमा विविधीकरण गर्नु नेपालको प्रमुख रणनीति हुनुपर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.