दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १६:०४

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई विभिन्न शुल्क, दस्तुर तथा करमा लागेको जरिवाना र ब्याज मिनाहाको सुविधा उपयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणले आर्थिक ऐन, २०८३ को दफा ४९ मा भएको व्यवस्थाअनुसार मङ्सिर मसान्तभित्र बक्यौता शुल्क, दस्तुर वा कर र त्यसको एक प्रतिशत थप रकम दाखिला गरेमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुने जनाएको छ ।

प्राधिकरणका अनुसार शुल्क, दस्तुर वा कर दाखिला नगरेका, कम दाखिला गरेका वा आवश्यक विवरण नबुझाएका सेवा प्रदायकले उक्त सुविधा पाउनेछन् ।

त्यसैगरी, सम्बन्धित कार्यालयबाट कर, शुल्क वा दस्तुर निर्धारण भई बक्यौता कायम भएका वा अदालत तथा न्यायिक निकायमा मुद्दा विचाराधीन रहेका सेवा प्रदायकले पनि यो सुविधा उपयोग गर्न सक्नेछन् । त्यसका लागि उनीहरूले मुद्दा फिर्ता लिई निर्धारित रकम र त्यसको एक प्रतिशत थप रकम बुझाउनुपर्नेछ ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई मङ्सिर मसान्तभित्र आवश्यक रकम दाखिला गरी जरिवाना तथा ब्याज मिनाहाको सुविधा उपयोग गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.