सेयर बजार ७.३८ अंकले घट्यो, कारोबार रकम सामान्य बढ्यो

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार १५:२४
सेयर बजार ७.३८ अंकले घट्यो, कारोबार रकम सामान्य बढ्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से ७.३८ अंकले घटेको छ । सामान्य गिरावटसँगै नेप्से परिसूचक २ हजार ६२१ अंकमा झरेको छ ।

अघिल्लो दिन ३.६२ अंकले बढेको बजारमा शुक्रबार भने बिक्री चाप बढ्दा गिरावट आएको हो । आज ८९ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजार घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहबाहेक सबै समूहका सूचक घटेका छन् । बैंकिङ समूह ०.४० प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ । यस्तै, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन ०.८१, अन्य ०.७८, फाइनान्स ०.५९, व्यापार ०.५२, जलविद्युत् ०.२९, निर्जीवन बीमा ०.२७, विकास बैंक र माइक्रोफाइनान्स ०.२३ तथा लगानी समूह ०.२३ प्रतिशतले घटेका छन् ।

शुक्रबार दोल्ती पावरको सेयर मूल्य सबैभन्दा धेरै ५.४१ प्रतिशतले बढेको छ । भूगोल इनर्जीको ४.२६, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३ र एभरेस्ट कलरको २.८३ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यसैगरी, पाल्पा सिमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ६.५५ प्रतिशतले घटेको छ । स्वस्तिक लघुवित्तको ५.०५, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१ र त्रिशूली जलविद्युत्को ३.२४ प्रतिशतले मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा रहेको छ । त्यसपछि क्रमशः लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, श्वेतगंगा हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, सेन्ट्रल फाइनान्स र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.