
विराटनगर । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेशमा ‘सुरक्षित यात्रा अभियान’ सुरु गरिएको छ। ‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा कोशी प्रदेश प्रहरी कार्यालयले आइतबार विराटनगरस्थित बसपार्कबाट अभियान शुभारम्भ गरेको हो।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) शेखर खनालले अभियानको शुभारम्भ गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि प्रहरी, यातायात व्यवसायी, चालक, सहचालक र यात्रु सबैको साझा प्रयास आवश्यक रहेको बताए।
उनले मादक तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा भार बोक्ने, जथाभावी ओभरटेक गर्ने र लेन अनुशासन उल्लंघन गर्नेजस्ता कारणले दुर्घटना बढिरहेको उल्लेख गर्दै सवारी साधनको नियमित जाँच र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे।
कार्यक्रममा आफ्नो सिटी सफारीमा छुटेको पाँच लाख रुपैयाँ फेला पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा बुझाउने चालक जितबहादुर राईलाई सम्मान गरिएको थियो ।
कोशी प्रदेशका १४ वटै जिल्लामा सञ्चालन भइरहेको अभियानलाई प्रभावकारी बनाउन प्रदेश प्रहरीले सडक सुरक्षासम्बन्धी जनचेतनामूलक टिकटक प्रतियोगितासमेत आयोजना गरेको छ। नागरिक, यातायात व्यवसायी तथा चालकले सचेतनामूलक भिडियो निर्माण गरी प्रतियोगितामा सहभागी हुन सक्नेछन्।
कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरी, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, यातायात व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।

























