झापाका ८६ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १२, शनिबार ०८:५९

झापा । झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो जिल्लाको कुल जनसङ्ख्याको ८६ प्रतिशत हो ।

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले वार्षिक रूपमा कम्तीमा पाँच सदस्य भएको परिवारलाई तीन हजार ५०० रुपैयाँ शुल्कमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य बिमा बोर्डकी जिल्ला प्रमुख लक्ष्मी कँडेलका अनुसार हालसम्म झापाका दुई लाख १७ हजार ५२७ परिवार स्वास्थ्य बिमाको दायरामा समेटिएका छन् । यसमा ५३ हजार १४२ ज्येष्ठ नागरिक, १२८ कुष्ठरोग प्रभावित, ७४४ एचआइभी सङ्क्रमित, तीन हजार १९१ अपाङ्गता भएका व्यक्ति र ५९० महिला स्वास्थ्य स्वयंसेविकालगायत लक्षित तथा संवेदनशील वर्गका नागरिक पनि समावेश छन् ।

बिमामार्फत निःशुल्क उपचार सेवा उपलब्ध गराउन जिल्लामा पाँच आँखा अस्पताल, सात रेफरल अस्पताल र १५ प्राथमिक सेवा प्रदायक संस्था गरी कुल २७ स्वास्थ्य संस्था सूचीकृत गरिएको प्रमुख कँडेलले जानकारी दिइन् । जिल्लाका १५ स्थानीय तहमध्ये दमक नगरपालिकामा कुल जनसङ्ख्याको ११४ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध देखिएका छन्। दमकमा बसोबास गर्दै आएका भुटानी शरणार्थीसमेत बिमामा समेटिएकाले आबद्धता दर बढी देखिएको हो ।

त्यसैगरी भद्रपुर, गौरादह, हल्दिबारी, कमल र कनकाईमा बिमामा आबद्ध हुनेको प्रतिशत ९० भन्दा माथि छ । सबैभन्दा कम झापा गाउँपालिकामा भने ४८ प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमामा आबद्ध छन् ।

पाँच जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रत्येक थप सदस्यका लागि ७०० रुपैयाँ प्रिमियम शुल्क तोकिएको छ । यसरी सदस्य थपिएका परिवारले अधिकतम दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था बोर्डले गरेको छ ।

पछिल्लो समय बिमा सेवाको उपयोग र दाबीमा देखिएको अनियमितता नियन्त्रण गर्न सरकारले केही कडा प्रावधान लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार बहिरङ्ग (ओपीडी) सेवामा वार्षिक अधिकतम २५ हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाइनेछ । बाँकी रकम अस्पताल भर्ना, आकस्मिक उपचार र शल्यक्रियाजस्ता गम्भीर तथा अत्यावश्यक सेवामा मात्र उपयोग गर्न सकिनेछ ।

स्वास्थ्य बिमामार्फत हाल एक हजार २९० प्रकारका औषधि उपलब्ध गराइँदै आएको छ । साथै, यही मङ्सिरदेखि भौतिक बिमा कार्ड बोक्नुपर्ने झन्झट हटाउँदै ‘नागरिक एप’मा रहेको डिजिटल कार्ड देखाएरै सूचीकृत अस्पतालबाट सेवा लिन सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.