
काठमाडौं । स्वास्थ्य बीमाको सेवा लिन अब भौतिक परिचयपत्र नै बोक्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।
बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भौतिक कार्ड नभएकै कारण बीमामा आबद्ध व्यक्तिलाई सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो ।
बोर्डका अनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा कार्डमा उल्लेखित विवरण स्पष्ट देखिने फोटोकपी देखाएर सेवा लिन सक्नेछन् ।
त्यसका लागि सम्बन्धित स्वास्थ्य संस्थाले बीमितको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी व्यक्ति बीमामा आबद्ध भए–नभएको यकिन गर्नुपर्नेछ । त्यसपछि बीमाअन्तर्गत उपलब्ध हुने सेवा दिन बोर्डले निर्देशन दिएको छ ।
यसअघि बीमितले भौतिक परिचयपत्र देखाएपछि मात्रै अस्पतालले सेवा दिने गरेका थिए ।
बोर्डका प्रवक्ता पवनकुमार शाहले नयाँ व्यवस्थाले परिचयपत्र हराएका, घरमै छुटेका वा भौतिक कार्ड साथमा नभएका सेवाग्राहीलाई अस्पतालमा उपचार लिन सहज हुने बताए ।

























