संखुवासभामा पुस १ देखि क्षयरोग खोज तथा पहिचान अभियान

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार १६:४८

संखुवासभा । जिल्लाका १० वटै स्थानीय तहमा आगामी पुस १ देखि १० गतेसम्म क्षयरोगका नयाँ बिरामी खोज तथा पहिचान अभियान सञ्चालन गरिने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले खाँदबारीमा आयोजना गरेको जिल्लास्तरीय क्षयरोग कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा अभियानबारे जानकारी दिइएको हो । प्रयोगशाला परीक्षणको दायरा बढाएर नयाँ बिरामी पहिचान र उपचारलाई प्रभावकारी बनाउने लक्ष्य रहेको क्षयरोग फोकल पर्सन विनोद थापाले बताए ।

जिल्लामा हालसम्म ८२ जना क्षयरोगका बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको साउनयता मात्रै ३० जना नयाँ बिरामी फेला परेको थापाले जानकारी दिए । कार्यक्रममा गत आर्थिक वर्षका कार्यक्रमको समीक्षा गर्दै नयाँ बिरामीको पहिचान, उपचाररत बिरामीको अवस्था र उपचारपछि निको भएकाहरूको तथ्याङ्क विश्लेषण गरिनेछ ।

कोशी प्रदेशमा चार हजार ७४५ जना क्षयरोगका बिरामी रहेका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरीमा एक हजार ३३० र सबैभन्दा कम सोलुखुम्बुमा २१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी फोकल पर्सन सुजाता बुढाथोकीले बताइन् ।

जिल्लाका १८ वटा स्वास्थ्य संस्थामा क्षयरोगसम्बन्धी सेवा उपलब्ध छ । तीमध्ये आठवटामा परीक्षण सेवा सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । समीक्षा कार्यक्रममा १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, प्रयोगशाला प्रमुख तथा स्वास्थ्यकर्मी सहभागी छन् । क्षयरोगको समयमै पहिचान, नियमित परीक्षण, औषधिको पूर्ण मात्रा सेवन र सङ्क्रमण रोकथामका उपायलाई प्रभावकारी बनाउन आगामी कार्ययोजनाबारे छलफल भइरहेको कार्यालय प्रमुख महेश भट्टले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.