
इटहरी । गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार गर्ने घोषणा गरेका छन् । आगामी मंसिर १७ गते विवाह गर्न लागेको जानकारी दिँदै उनले समारोहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका हुन् ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक आफ्नो समुदायका माझ विवाहको कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने उनको भनाइ छ ।
‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु । आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु ।’
विवाहका लागि गोरखा रोज्नुको कारण पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति जोगाउने उद्देश्य रहेको उनले बताए । आफ्नो खुसीका लागि मात्रै नभई आगामी पुस्तालाई इतिहास र पहिचान हस्तान्तरण गर्न पनि परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ ।
‘आफ्नो समुदाय, समाज, इतिहास, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउँदै नयाँ शैलीमा विवाह गर्न मलाई मन छैन । आफ्नो देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउनका लागि गोरखा रोजेको हुँ,’ उनले भने ।
गृहमन्त्री गुरुङले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति असन्तुष्टि जनाए । ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने मानसिकता गलत भएको उनको धारणा छ ।
‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन । दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो । त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।
आफ्नो विवाहमा सीमित व्यक्ति मात्रै सहभागी हुने जानकारी दिँदै उनले सबैलाई निमन्त्रणा गर्न नसकिने बताए । पार्टी प्यालेसमा भव्य समारोह गर्न सक्ने अवस्था भए पनि त्यसो नगरी परम्परागत शैलीमा विवाह गर्ने आफ्नो र हुनेवाला श्रीमती दुवैको इच्छा रहेको उनले सुनाए ।
उनले विवाहस्थल रहेको क्षेत्रलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना पनि औँल्याए । आफ्नो विवाहले गाउँघरका होमस्टे, स्थानीय कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने चाहना रहेको उनको भनाइ थियो ।
‘एउटा गृहमन्त्री भएको समयमा पार्टी प्यालेसमा गएर आफ्नो खुसीका लागि मात्रै विवाह गर्न सकिन्थ्यो होला । तर, आफ्नो समुदाय र गाउँठाउँको पहिचान पनि जोगिनुपर्छ । त्यो ठाउँमा पर्यटक आउने वातावरण बनोस्, पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास होस् भन्ने मेरो चाहना छ,’ उनले भने ।
सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्याएको योगदान पनि स्मरण गरे। आफू सामान्य नागरिक हुँदादेखि नै समुदायले साथ र हौसला दिएको भन्दै उनले देश तथा विदेशमा रहेका गुरुङ समुदायप्रति आभार व्यक्त गरे ।
काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालबाट प्राप्त साथ कहिल्यै बिर्सन नसक्ने उनले बताए । सात महिनासम्म चलेको आन्दोलनमा पूर्वका नागरिकले निरन्तर साथ दिएको स्मरण गर्दै उनले पूर्वी क्षेत्र आफ्नो मनमा विशेष स्थानमा रहेको उल्लेख गरे ।
आफू अप्ठ्यारोमा पर्दा विभिन्न आरोप र आलोचनाका बीच पनि गुरुङ समुदायले साथ दिएको उनको भनाइ थियो । समुदायले सिकाएको देशप्रेमको पाठ आगामी पुस्ताले पनि आत्मसात् गर्नुपर्ने उनले बताए ।

























