
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र भारतको बिहार इण्डष्ट्रिज एसोसिएसन पटनाबीच भगिनी सम्बन्ध कायम गरिएकोे छ ।
पटनामा भएको एउटा कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र एसोसिएसनका अध्यक्ष केपीएस केसरीबीच भगिनी सम्बन्ध स्थापित गरिएको हो । निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आर्थिक विकासमा क्रियाशील छ । महासंघ कोशीले यस प्रदेशमा उद्योग व्यवसायमैत्री वातावरण निर्माणको लागि नीतिगत तहमा पैरवी गर्दै पछिल्लो समय कृषि क्षेत्रको रूपान्तरणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
बिहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बिहार इण्डष्ट्रिज एसोसिएसन पटना र महासंघ कोशीबीच स्थापित भगिनी सम्बन्धले दुई पक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवर्धन गर्ने अपेक्षा छ । व्यावसायिक सम्बन्ध र सहकार्य बढेर जाने आशा पनि गरिएको छ ।
यस सम्बन्धबाट व्यवसायिक वातावरण निर्माणको लागि नीतिगत तहमा संयुक्त रूपमा पैरवी गर्ने आधार तय भइ नेपालको कोशी प्रदेश र बिहार राज्यको व्यापार क्षेत्रमा लाभ पुग्ने विश्वास गरिएको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले बताए । महासंघ कोशी प्रदेशले भदौ २७ देखि ३० गतेसम्म मोरङको कटहरीमा आयोजना गर्ने कृषि एस्क्पोमा एसोसिएसनले सहभागिता जनाउने भएको छ ।
एस्क्पोमा कृषिका प्रविधि, कृषि उपज वस्तु तथा कृषि विज्ञसहित सहभागिता जनाउने एसोसिएसनका अध्यक्ष केसरीले बताए । कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्र राउत, कोषाध्यक्ष सुवास आचार्य, केन्द्रीय सदस्य एवं महासंघका सल्लाहकार अविनाश बोहरालगायतको सहभागिता थियो ।

























